Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बेरोजगार दलितलाई बंगर पाल्न सिकाइयो

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७७, सोमबार
धरानमा बेरोजगार दलितलाई बंगर पाल्न सिकाइयो

धरानः दलित समुदायका बेरोजगार व्यक्तिहरुलाई तालिम दिई स्वरोजगार बनाउने उद्देश्यले धरानका २० जनालाई व्यवसायिक बंगुर पालन तालिम सञ्चालन गरिएको छ ।
विश्वकर्मा कल्याण सेवा समितिको सभाहलमा तालिमको उद्घाटन गरिएको छ । पशु सेवा कार्यालय धरानका प्रमुख महेन्द्रकुमार पैकाराको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तालिम फागुन २५ र २६ गतेसम्म हुने दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिएका छन् ।
तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि पैकराले श्रम, सीप र दक्षताका खानी दलित समुदाय हिनताबोधमा नभई गौरव र आत्मसम्मानका साथ जिउनुपर्नेमा जोड दिए । राज्यसत्ताबाटै दलित समुदायमाथि लामो समयदेखि अन्याय भएको महसुस गरी यतिबेला क्षतिपूति स्वरुप राज्यले नै दलितहरुको क्षमता विकास गर्न श्रोतसाधनको व्यवस्थापन गरेकोले सचेत भई आफ्ना अधिकार प्राप्तिको अभियानमा जुटेर पछाडि परेको आर्थिक अवस्थामा सुधार ल्याउने अवसर आएको बताए ।
कार्यक्रममा बराह कृषि परियोजनाका प्रमुख दिलबहादुर रामदामले ब्यावसायिक रुपमा बंगुर पालन गरेर छिटो तरिकाले आर्थिक उन्नती गर्न सकिने बताए । उनले ६ महिनामा नै राम्रो आम्दानी गर्न सकिने, सरल र सहज व्यावसाय भएकोले आर्थिक विपन्नहरुले ब्यावसायिक रुपमा बंगुर पालन गर्न त्यससम्बन्धि विज्ञहरुबाट सीप तथा ज्ञान सिक्न आवश्यक भएकोले तालिम उपयुक्त भएको बताए ।
धरानमा लामो समयदेखि दलित आन्दोलनमा क्रियाशील विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर सिन्च्यूरीले तालिमबाट दलित समुदायका बेरोजगार व्यक्तिहरुले स्वरोजगार बन्ने सीप, शिक्षा र पूूजीसमेत पाउने भएकोले तालिममा सहभागि सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।
समितिका अध्यक्ष किशोर परियारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समितिका सदस्य धनबहादुर हमालले स्वागत मन्तव्य राखेका थिए । तालिमको पहिलो दिन पशु सेवा कार्यालय धरानका प्रमुख महेन्द्र कुमार पैकराले बंगुर पालनका लागि सरकारी अनुदान तथा सहयोगका विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी समितिका सदस्यसचिव तारा लामगादेले दलित समुदाय उद्यमशीलता चक्र कोषबाट ब्यावसायिक रुपमा बंगुर पालन गर्नेलाई १ लाख सम्म बिना धितो ऋण प्रवाह गर्ने कार्यविधिका विषयमा प्रशिक्षण दिएका थिए भने बराह कृषि परियोजनाका प्रमुख दिलबहादुर रामदामले बंगुरका जात र विशेषताहरुका विषयमा प्रशिक्षण दिएका थिए ।
तालिमको दोश्रो दिन भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र सुनसरीका निमित्त प्रमुख बंगुर विज्ञ डा. मनोज कुमार महतोले ब्यावसायिक बंगुर पालनका विषयमा प्रशिक्षण दिने छन् भने तालिमको तेश्रो दिन धरान २० माछामारास्थित किरातेश्वर कृषि सहकारी बंगुर फर्ममा अनुगमन तथा अवलोकनको कार्यक्रम रहेको समितिका सदस्य लिला शंकरले जानकारी दिएका छन् ।
आर्थिक रुपमा राम्रो आम्दानी गर्न सक्ने सीप तथा शिक्षा पाई निरक्षर व्यक्तिले समेत गरिखाने वातावरण निर्माण गर्न लागेकोले तालिममा सहभागिहरुको उत्साहजनक सहभागिता रहेको समितिका सदस्य खगेन्द्र नेपालीले बताए । तालिममा सहभागि देवीचरण विश्वकर्माले पहिलो दिनको तालिम उत्साहजनक रुपमा सम्पन्न भएको भन्दै दोश्रो र तेश्रो दिनपछि ब्यावसायिक रुपमा बंगुर पालनमा लाग्न र कृषक बन्ने उत्पे्ररणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: फाल्गुन २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend