Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यार्थी: शेयर बजारमा किन छिर्ने ?

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७७, बुधबार
विद्यार्थी: शेयर बजारमा किन छिर्ने ?

शेयरका बादशाह वारेन बफेटले ११ वर्षको उमेरमा शेयरमा लगानी गरेका थिए । संसार भरिनै शेयरको कारोबार गरेर दैनिक करोडौं मानिसले आफ्नो जीवनको गुजारा मात्रै होइन, जीवन कायापलट गर्दै आएका छन् । शेयर बजारमा लगानी गर्ने सबै भन्दा उपयुक्त समय कुन हो ? यसको ठोस जवाफ त छैन । वारेन बफेटलाई नै हेर्ने हो भने दोश्रो बजारमा प्रवेश गर्न विद्यार्थी जीवन सबैभन्दा राम्रो समय हो ।
सामान्यतः लगानीकर्ताहरुको हातमा धेरै पैसा भएपछि अथवा जागिर सुरु गरेपछि शेयर बजारमा प्रवेश गर्ने प्रचलन रहदै आएको छ । जब मान्छेसँग तरल सम्पत्ति हुन्छ तब उसले त्यो तरल सम्पत्तिलाई कुनै न कुनै क्षेत्रमा लगानी गर्नु पर्दछ । नत्र मुद्रास्फीर्तिको रेसियो अनुसार अन्य सबै कुराको मूल्यवृद्धि हुन्छ र बचतको मूल्यह्रास हुँदै जान्छ । लगानी गर्न पनि अनुभव आवश्यक पर्दछ । हातभरि पैसा छ लगानी त गर्ने ? तर कहाँबाट ? कुन शेयर किन्ने ? आदि समस्या मुख्य रुपमा देखा पर्दछन् ।
त्यसैले शेयर बजारमा लगानी गर्न पनि अनुभव र ज्ञानको आवश्यकता पर्दछ । धेरै जस्तो लगानीकार्ताहरु दोश्रो बजारमा ठोकिन्छन् । थोरै पुँजी भए पनि लगानी गर्न मिल्ने र अन्य क्षेत्र भन्दा शेयर बजार क्षेत्रमा उतारचढाव धेरै भएकाले लगानीकर्ताको मन शेयर बजार क्षेत्रतर्फ आकर्षित हुने गर्छ । कोही मानीसहरुको आफ्नो चाहना र इच्छाले शेयर बजारमा प्रवेश गर्छन् भने कोही कोही मानीसहरु साथीभाइको लहैलहैमा लागेर अथवा अन्य कुनै कारणले शेयर बजार क्षेत्रमा प्रवेश गर्ने गर्छन् ।
शेयर बजार यस्तो क्षेत्र हो जहाँ सजिलै पैसा कमाउन सकिन्छ र सजिलै गुमाउनपनि । शेयर बजारमा थोरै मात्र लगानीकर्ताले पैसा कमाउने गर्छन् भने धेरै लगानीकर्ताले पैसा गुमाउने गर्छन् । बजार प्रवेश गर्न सजिलो भएपनि यो क्षेत्रमा पैसा कमाउन र आफ्नो पुँजी घट्न नदिन ठुलै पापड बेल्नुपर्ने हुन्छ । दोश्रो बजारमा अनुभव भएको मान्छेको भेट पैसा भएको मान्छेसँग हुन्छ र केही समयपछि अनुभव भएको मान्छेको हातमा पैसा हुन्छ र पैसा भएको मान्छेसँग अनुभव हुनेगर्छ । पैसा भएपनि अनुभव नहुँदा लगानीकर्ताले ठूलो पैसा गुमाउने गर्छन् ।
जति नै पढेपनि जति नै विज्ञता हासिल गरेपनि शेयर बजारमा अनुभवको ठूलो महत्व हुन्छ । जागिर जीवनमा प्रवेश गरी दोश्रो बजारमा लगानीगर्दा लगानीकर्ताले ठूलो पैसा लगानी गर्छन् र अनुभवको अभावले बजारबाट राम्रो प्रतिफल निकाल्न सक्दैनन् र आफ्नो ठुलो पुँजीलाई जुवा खेल्दा हारेको सो सरहको रुपमा गुमाउँछन् ।
शेयर बजारमा प्रवेश गर्न राम्रो समय भनेको विद्यार्थी जीवनमा नै हो । विद्यार्थी जीवनमा त्यति धेरै पैसा हुँदैन। यदि विद्यार्थी जीवनमा भएको थोरै थोरै पैसा हामीले दोश्रो बजारमा लगानी गर्न सकेमा शेयर बजारको चालको बारेमा अनुभव लिन सकिन्छ । शेयर बजारमा हुने कारोबार सिक्ने मौका भनेको विद्यार्थी उमेर नै उत्तम हुन्छ । विद्यार्थी जीवनमा गरिएको थोरै लगानीमा नोक्सानी आउँदा त्यति ठूलो असर पर्दैन तर पछि लगानी गरेर ठूलो पैसामा नोक्सानी हुँदा आफूलाई धेरै ठूलो असर पर्छ । त्यसैले शेयर बजारको मिठो अनुभव लिने र भविष्यमा ठूलो पुँजी लगानी गर्नुपरेमा विद्यार्थी जीवनमै शेयर बजारमा लगानी गरेको अनुभवले सिकाउँछ ।
अहिलेको बजारको अवस्था हेर्ने हो भने विद्यार्थीहरुलाई दोश्रो बजारमा प्रवेश गर्न र अनुभव लिन राम्रो समय छ भन्दा फरक पर्दैन । अहिलेको अवस्था हेर्दा वाणिज्य बैंकहरुको शेयरलाई धेरै लगानीकर्ताहरुले ‘अण्डर भ्यालुड’ भन्दै आएका छन् । मूल्य आम्दानी अनुपात १५ भन्दा मुनी भएका केही वाणिज्य बैंकहरुको शेयर मूल्य २०० को वरिपरि रहेको छ । एक जना विद्यार्थीले आफ्नो खर्च बाट २५०० रुपैयाँ निकालेर दोश्रो बजारमा प्रवेश गरी अनुभव लिन सक्छ र निकट भविष्यमा ठूलो पुँजी लगानी गर्दा ऊ अन्योलबाट टाढा रहन्छ ।
एकजना व्यक्तिको विद्यार्थी जीवनमा जति पढ्ने लेख्ने अनुसन्धान गर्ने इक्षाशक्ति हुन्छ त्यो समयको प्रभाव भनु वा कामको प्रेसर भनु त्यो शक्ति विस्तारै घट्दै जान्छ । मान्छे पछि व्यवहारमा फँस्न थालेपछि उसलाई समयको अभाव पर्न थाल्छ र उसले चाहेर पनि दोश्रो बजारको बारेमा अध्ययन गर्न निकै कम समय हुन्छ । विद्यार्थी जीवनमा भने प्रयाप्त समयसँगै सिक्न खोज्ने इच्छा शक्तिपनि धेरै हुन्छ । त्यसकारण विद्यार्थी जीवनमै बुझने शक्ति बढी हुने भएकाले त्यही समयमा नै शेयर बजारमा प्रवेश गर्दा उत्तम हन्छ ।
संसारका सबै मान्छे शेयर बजारको लागि बनेका हुँदैनन् । विद्यार्थी जीवनबाट नै शेयर बजारमा प्रवेश गरेको व्यक्तिले आफुलाई शेयर बजारमा भावी दिनमा रहेन सक्ने कि नसक्ने बारेमा स्वयम् मुल्यांकन गर्न सक्छ । यदि विद्यार्थी जीवनमा गरिएको लगानीले राम्रो प्रदर्शन गरेको वा आफूले शेयर बजारलाई बुझ्दै गएको अवस्थामा उसले पछि गएर पनि शेयर बजारलाई निरञ्तरता दिन सक्छ तर यदि शेयर बजार बुझ्न सकिन्न जस्तो लाग्दछ भने पनि सबै कुरो विद्यार्थी जीवनबाट नै थाहा पाउँछ र भविष्यमा अर्कै पेशा व्यवसायमा आवद्ध हुन्छ ।

प्रकाशित मिति: फाल्गुन २६ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend