अहिले विशेषतः सुगर, प्रेसर र लिवर अर्थात् कलेजका बिरामी बढ्दै गएका छन् । खानपानका कारण नै यस्तो समस्या बढ्दो छ । ‘अहिलेसम्म बढी सुगर, प्रेसर र कलेजको बिरामी बढ्दै गएका छन्’, धरानस्थित विजयपुर हस्पिटलका फिजिसियन डा. विवेकप्रभात शाहले भने, ‘विशेषतः खानपानकै शैली, कसरत नहुनु आदि कारणले पनि यस्ता बिरामी बढेका छन् ।’
सुगर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
–मधुमेह नियन्त्रण एवं व्यवस्थापनका लागि नियमित व्यायाम, औषधि सेवन, इन्सुलिनको प्रयोगका साथै खानपान नियन्त्रण गर्नु जरुरी छ ।
–साग, तरकारी, ताजा फलफूल, दाल, गेडागुडी ठीक परिमाणमा दैनिक भोजनमा समावेश गर्नुपर्छ । सबै प्रकारका पौष्टिक पदार्थ कार्बोहाइड्रेट, प्रोटिन, चिल्लोपदार्थ, भिटामिन र खनिज पदार्थ ठिक्क परिणाममा पाइने हिसाबले खाना सन्तुलित हुनुपर्छ ।
–बोसो तथा छालारहित मासु, माछा, अन्डा, चिल्लोरहित दूध तथा वनस्पति स्रोतबाट प्राप्त दाल गेडागुडी ठिक्क मात्रामा खानुपर्छ ।
–दैनिक नियमित तथा हरेक पटकको छाक नछोडी ठिक समयमा खानुपर्छ, भोकै बस्नु हुँदैन ।
–गुलियो खाद्यपदार्थ, केक, पेस्ट्री, जामजेली, चकलेट, जुस नखानु नै बुद्धिमानी हुन्छ ।
–कम चिल्लो भएको खाद्य परिकार छनोटका साथै परिमाणमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
उच्च रक्तचापका हुन नदिन के गर्ने ?
–मासुजन्य खाद्य पदार्थको सेवन धेरै कम गर्ने ।
–मध्यपान तथा धूमपान र सुर्तीको प्रयोग नगर्ने ।
–मिठाइका परिकारहरुको प्रयोग धेरै कम गर्ने ।
–शरीरलाई आवश्यक मात्रामा मात्र खाद्य पदार्थको सेवन गर्ने ।
–विषाधीरहित हरियो सागपात तथा रेशादार भएका तरकारी तथा फलफूलहरुको सेवन बढी गर्नुपर्छ ।
–शारीरिक व्यायम गरिराख्नुपर्छ । आदि इत्यादि ।
कलेजो जोगाउन सकिन्छ
–अत्याधिक रक्सी खानु हुँदैन ।
–बेलाबखत हेपाटाइटिस ‘बि’ जाँच्नुपर्छ ।
–कलेजोमा बोसो जम्ने समस्या छ भने मोटोपन नियन्त्रण गर्नुपर्छ ।
–डाक्टरको सल्लाहबिना औषधि कहिल्यै खानु हुँदैन ।