धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुरवीन प्रविधिबाट महिलाको मासु पलाएको समस्याको शल्यक्रिया गरिएको छ ।
गत आइतबार पाठेघरमा (१०–१० एमएम) को ऐंजेरू (मासु पलाएको) समस्या लिएर आएकी ३९ वर्षीया महिला शल्यक्रिया गरिएको हो । ‘पहिला थियो तर सामान्य शल्यक्रिया हुन्थ्यो, एडभान्स सर्जरीचाहिँ गर्दैन थियौं, अहिले डा. अजय अग्रवाल ताइवानबाट तालिम लिएर आइसकेपछि विगत ६–७ महिनादेखि एडभान्स लेवलको सर्जरी गरिएको हो,’ गाइनो विभागका ल्याप्रोसकोपी सर्जन डा. मदन खड्काले भने । ती महिलाको सोमबार नै सफल शल्यक्रिया गरिएको र मंगलबार डिस्चार्ज समेत गरिएको उनको भनाइ छ ।
शल्यक्रिया गर्ने टोलीमा एनेसथेसियाका डा. पूर्णकला गुरूङ, नर्सहरूमा सुजता राई, प्रतिमा बस्नेत र बन्दना खड्का रहेका थिए ।
उनका अनुसार प्रतिष्ठानमा शल्यक्रियालाई सरल, सुरक्षित तथा सस्तो बनाउनका लागि प्रतिष्ठानमा गाइनो ल्यापारोसकोपिक (दुरविन प्रविधीबाट गरिने शल्यक्रिया) प्रविधिलाई अगाडि बढाइएको छ ।
हालैमात्र ताइवानबाट यस विषयमा फेलोसिप गरी नेपालमा सेवामा जुटेको डा. अग्रवाललाई डा. मदनले साथ दिएका छन् ।
‘नेपालमै गुणस्तरीय अत्याधुनिक शल्यक्रिया गरिनुपर्छ र त्यो आम नेपाली जनताको पहुँचमा हुनुपर्छ’, डा. अग्रवालले भने, ‘ताइवानमा सबैजसो शल्यक्रिया चाहे जटिल किसिमको होस् या सामान्य किसिमको प्रायः सबै शल्यक्रिया दूरबीन प्रविधिबाट पेट नचिरिकन गरिन्छ । यस प्रकारका शल्यक्रियामा पेटमा घाउ हुँदैन, दाग बस्ने त कुरै भएन, बिरामीको घाउ पाक्ने सम्भावना कम हुने, दुखाइ कम हुने, बिरामीलाई अस्पतालबाट चाँडै डिस्चार्ज गर्न मिल्ने, अप्रेसन पूर्वको स्थितिमा चाँडै पुग्ने थुप्रै फाइदा हुने गरेको छ ।’
दुरविन प्रविधीबाट गरीने शल्यक्रिया पेट चिरेर गर्ने शल्यक्रिया भन्दा केही महङ्गो हुन्छ । यसमा लाग्ने औजार उपकरण सबैजसो विदेशबाट ल्याउनुपर्ने हुन्छ तर हामी बिरामीलाई कसरी कम खर्च मा गराउन सक्छौं त्यसमा बढी केन्द्रित रहेको डा. अग्रवालले बताए । ‘प्राय प्रयोगमा हुने महँगो उपकरण कमभन्दा कम प्रयोग गरी यो सेवा दिन आफ्नै तरिकाबाट गर्छौं र त्यसमा हामी सफल भएका छौं ।’ हप्तामा ४–५ शल्यक्रिया गर्दै आइरहेको र भविष्यमा यो बढ्दै जाने क्रममा विश्वस्त रहेको उनले बताए ।
‘नेपालको अन्य अस्पतालहरूमा दुरविन प्रविधिबाट शल्यक्रिया गर्दा मोरसलेटर डिभाइसको प्रयोग हुन्छ । अटोमेटिक हुने यस डिभाइस खरिद गरी शल्यक्रिया गर्दा बिरामीले महँगो शुल्क तिर्न पर्ने हुन्छ । तर हामीले दुरविनबाट समस्या हेरेर सानो प्वाल पारेर म्यानुअल रूपमा मासुको डल्लाहरूलाई काटेर लामो बनाएर त्यस प्वालबाट झिक्ने गरेका छौ ।’ म्यानुअल गर्दा सस्तो र सुरक्षित हुने शल्यकृयामा खटिएका डा. खड्काले बताए । हाम्रो सीप र कौशलता अझै निखार्दै लैजाने हो भने हामी आपतकालीन शल्यक्रिया पनि दूरबीन प्रविधिबाट छिटो छरितो तरिकाले गर्न उनले बताए ।