धरानः नेपाल राष्ट्र बैंकले सुनको कोटा बढाएर २० किलो पुरयाएको छ । हाल हुँदै आएको दैनिक १० किलो आयातलाई बढाएर २० किलो पुरयाएको हो । सुनचाँदी व्यवसायमा व्यवसाय गर्दै आएका व्यवसायीहरूले हालको निर्धारित कोटाले सुनले बजारको माग धान्न नसकेको भन्दै राष्ट्र बैंकलाई कोटा बढाउन आग्रह गर्दै आएको थियो ।
सरकारले सुन आयातको कोटा बढाएर कोभिड अघिकै अनुपातमा पुरयाएको हो ।
पछिल्लो समय बजारमा १० केजी सुनले माग नधानेपछि व्यवसायीले आयात कोटा बढाउन आग्रह गर्दै आइरहेका थिए । उनीहरुले अर्थमन्त्रालय, बाणिज्य मन्त्रालयदेखि राष्ट्र बैंकसम्म पुगेर कोटा बढाउन लविङ गरेका थिए ।
हालको लागि २० किलो सुन आयातका लागि मन्त्रालयबाट सिफारिस भएर राष्ट्र बैंकमा पठाएको वाणिज्य सचिव दिनेश भट्टराईले बताए । उनले सुन अभाव बढ्न थालेपछि कोटा बढाइएको बताउँदै यसले बजारमा सहज हुने जानकारी दिए ।
कोभिडकालमा सुन प्रति तोला एक लाख रुपैयाँभन्दा माथि पुगेको थियो । मूल्य महँगिदा बिक्रीका लागि आएका गरगहनाबाट व्यवसायीले गर्जौ टार्दै आएका थिए । गत मंसिरदेखि सुनचाँदी बजार चलायमान बन्दै जाँदा सुनको माग पनि बढ्दै आएको छ ।
व्यवसायीहरूको सो मागलाई्र धान्न राष्ट्र बैंकले सुनको कोटा बढाएर २० किलो पुर्याएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले परिपत्र जारी गरेका छन् ।
सुनको चरम अभाव भइरहेको बेला बढेको कोटाले राहत मिलेको बताए । ‘अहिले बजारको दैनिक माग ३० किलो भएपनि बढेको कोटाले केही राहत मिलेको छ,’ उनले भने ‘राष्ट्र बैंकले कोटा बढाएर एकदम राम्रो गरेको छ ।’
वैशाख महिनामा विवाहको लगत भएकोले ३० किलो पनि बजार धान्न सक्दैन । बजारमा अझै सुनको माग बढ्छ भन्ने विश्वास सुन व्यापारीहरूले लिएका छन् ।
अहिले बजारमा दैनिक ३० किलो सुनको माग छ । तर, १० किलोमात्रै आपूर्तिको व्यवस्था हुँदा बजारमा कालोबजारी समेत बढ्दै गएको छ । तोला मै २ हजारसम्म बढी मूल्य तिर्न आम उपभोक्ता बाध्य भएका छन् ।
कोरोना पछि अर्थतन्त्र चलायमान हुन थालेसँगै बजारमा सुनको अभाव शुरु भएको छ । सुन व्यापारीहरू अहिले आफ्ना ग्राहकलाई २–३ तोलाभन्दा बढीको सुनको अर्डर लिन सक्ने अवस्थामा छ्रैनन् । १०–१२ तोला सुनको गहना बनाउन अडर आयो भने हामी डलर लिन सक्ने अवस्थामा नरहेको महासंघका अध्यक्ष तेजरत्न शाक्यले बताए ।