Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा उद्योग खोलेर कमाउँदै यी दिदीबहिनी

हाम्रो कोशी आवाज
चैत्र २३ २०७७, सोमबार
धरानमा उद्योग खोलेर कमाउँदै यी दिदीबहिनी

धरानः धरानमा उद्योग खोलेर दिदीबहिनी चम्किएका छन् । उद्योगबाटै कमाउँदै आएका उनीहरुले १० जनाभन्दा बढीको परिवारको गुजारा चलाउँदै समेत आएका छन् भने ६ दर्जन बढीलाई रोजगारी समेत दिएका छन् । ती दिदीबहिनीले अहिले धेरै प्रगति गरिसकेका छन् । यो अर्थमा कि आम्दानीको स्रोत बढाउँदै लगेका छन् भने नाम पनि कमाउँदै गएका छन् । भनौं, अहिले उनीहरुको व्यवसाय फैलिँदो छ । उनीहरुले पछाडि फर्केर हेर्नुपरेको छैन ।
धरान–१२ चतरालाइनमा उद्योग खोलेकी यमुना तुम्सा (सङ्यक) का अनुसार शुरुमा ५० हजार रुपैयाँबाट व्यवसाय थालेका बताउँछिन् । अहिले उनले उत्पादनलाई छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनाउन सफल भएकी छिन् । उनको उद्योगले ढाकाबाट निर्मित सबै प्रकारका कल्चरल ड्रेस डिजाइन तथा उत्पादन गर्दै आएको छ ।
६ महिनापछि परीक्षणकाल पनि सकिएको र व्यवसाय ले पनि गति लिन थालेपछि आफू यो व्यवसायप्रति झनै प्रतिबद्ध बनेको उनले बताइन् । ‘धेरै, झ्याप्प लगानी गरेर तामझामका साथ होइन ५० हजार रुपैयाँबाट व्यवसाय शुरु गरेको हुँ’, उनले भनिन्, ‘त्यतिबेला परीक्षणकाल मात्रै थियो तर पछि व्यवसायले गति लिन थालेपछि दर्ता गरेर सञ्चालन गरें ।’ दर्ता गरेर चलाएको आउँदो असोजमा तीन वर्ष पुग्ने उनले बताइन् ।
‘२४ से सङ्यक ढाका उद्योग’ नाम दिइएको उद्योगमा गुणस्तरीय ढाकाको टोपी, खाडीको साडी, साडीको दौरा सुरुवाल, कोट, इस्टकोट (तागाबा), मेख्ली, कुर्ता, सुरुवाल, चौबन्दी चोली, पछ्यौरी, मफलर, लुङ्गी, सर्ट, जुत्ता–चप्पल, टाइ, पर्स, ब्याग, रुमाल, मेख्ली होलसेल तथा खुद्रा मूल्यमा उपलब्ध गराइन्छ ।
उनले भनिन्, ‘ढाकाको चौबन्दी, रुमाल, टोपी, पछ्यौरी, गलबन्दी तथा कुर्ता सलवाललगायत कपडा उत्पादन गरी बिक्री गर्ने गरेका छौं । सबैले एउटै उद्योगमा काम गर्छौं । गुणस्तरीय सामग्री उत्पादन गर्दा मूल्य पनि राम्रै पाएका छौं ।’
दिदीबहिनीले नै ‘डिग्री’ पढेका छन् । यमुनाको थेसिज लेख्न बाँकी छ भने अर्की नुमा तुम्सा (सङ्यक) डिग्री पढिरहेकी छिन् । यसअघि शिक्षिका यमुना उनलाई शिक्षिका पेशा फापेन । ‘पहिला म पढ्दै, शिक्षिकाका रुपमा कार्यरत थिएँ तर त्यो पेशाले मात्रै आफू सन्तुष्ट भइनँ’, उनले खुलाइन्, ‘आमा, बोजुबाट सिकेको ढाकाको तरिकालाई नयाँ–नयाँ शैलीलाई पछ्याएँ, सिकें र थप गुणस्तरीय सामग्री उत्पादन गर्न थालें अनि त ग्राहक पनि सन्तुष्ट बन्दै गएका हुन् ।’
व्यवसायलाई दिगो राख्नको लागि आफ्ना उत्पादनहरू थोरै मुनाफा राखेर बिक्री गर्ने गरेको उनी बताउँछिन् । एकचोटी आउने ग्राहक फर्केर आइरहँदा नै उनको व्यवसायले गति लिएको हो । ‘एकचोटी आउने ग्राहक फेरि पनि फर्केर आउनुहुन्छ’, उनले भनिन्, ‘सन्तुष्ट बनाएकै कारण टिकिरहेको छु ।’
उनको उत्पादन अहिले विश्वका धेरै देशहरूमा गइरहेको छ । नेपालीहरु छरिएर रहेका ठाउँ विदेशसम्म पनि उनको उत्पादन पुग्ने गरेको छ । विशेषतः हङकङ, सिंगापुर, क्यानडा, अष्ट्रेलिया, अमेरिका आदि देशमा उनीहरुले उत्पादन गर्दै डिजाइन गरेको कपडा पुग्ने गरेको छ । अष्ट्रेलिया, क्यानडातिर दीक्षित हुँदा नेपाली ढाकालाई नै रोज्ने गरेको पाउँदा गर्व लाग्ने गरेको उनले बताइन् ।
धैर्य नगुमाइकन आफ्नो काममा निरन्तर लागेका उनीहरुले अहिले मासिक करिब ७० देखि ८० हजार रुपैयाँँसम्म कमाइ गर्दै आएको बताउँछन् । प्रत्यक्षरुपमा ६० जनालाई र अप्रत्यक्ष दुई सयजनालाई रोजगारी दिएका छन् ।
यस्तै, नुमाले भने आधुनिक डिजाइन तयार गर्छिन् । ढाकालाई नै क्याजुअल, सबै प्रकारका ढाका साडीलगायत अन्यमा आधुनिक डिजाइनमा बुट्टा भरेर काम गर्ने सोंच बनाएको उनले बताइन् । ‘अब दिदी परम्परागत र म आधुनिक हिसाबले अगाडि बढ्दैछु, यो चाहिँ नेपालमा मात्रै सीमित नगरेर इन्टरनेशनल डिजाइन तयार हुनेछ ।’ उनले भनिन् ।
संस्कृतिको पनि जगेर्ना हुने र व्यवसाय पनि अगाडि बढ्नेगरी परम्परागत कपडालाई आधुनिकरूपमा ढाल्न सके नयाँ पुस्ताले मन पराउने उनको अनुभव छ । ‘अहिले हामीलाई माग धान्नै गाह्रो छ । विशेषगरी विदेशबाट बढी माग छ,’ लिम्बूले भनिन्, ‘विदेशबाट समेत मगाउन थालेपछि आधुनिक पाराले पनि कुद्नैपरयो ।’
मेहनतकै कारण नाम, दाम र काम सबै आर्जन गरेको बताउने दिदीबहिनीकै निष्कर्ष छ, ‘देशमा यति धेरै सम्भावना हुँदाहुँदै महिलाहरू विदेशमा नारकीय जीवन बिताउन किन जान्छन् होला ?’
सरकारले सीप सिक्ने, उद्योग खोल्नेका लागि सहयोग पनि गरेको उनीहरुले सुनेकै हुन्छन् । उनीहरुको गुनासो पनि छ– होइन राज्यले दिने सेवा सुविधाचाहिँ कता जान्छ होला, कस्ताले पाउँछन् होला ? तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: चैत्र २३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend