धरानः सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै अर्को रोजगार कार्यक्रम आगामी बजेटमा समावेश गर्ने तयारी गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८–७९ बाट नयाँ रोजगार कार्यक्रम ल्याउने तयारी गरिएको हो । वन तथा वातावरण मन्त्रालयले ‘प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम’का नाममा नयाँ कार्यक्रम प्रस्ताव गरेको हो ।
पछिल्लो तीन आर्थिक वर्षदेखि कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारितामाथि गम्भीर प्रश्न उठिरहेका बेला सरकारले त्यस्तै प्रकृतिको अर्को कार्यक्रम ल्याउने तयारी थालेको छ ।
मन्त्रालयले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रमका नाममा नयाँ कार्यक्रमका लागि बजेटसमेत प्रस्ताव गरिसकेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बारे बुधबार संघीय संसदअन्तर्गतको अर्थसमितिले मन्त्रालयसँग गरेको छलफल कार्यक्रममा सहसचिव प्रकाश लम्सालले वन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यो कार्यक्रम अगाडि बढाउन लागिएको बताए ।
‘यो कार्यक्रमको तयारी गर्न मन्त्रीज्युको निर्देशन छ । न्यून बजेट सिलिङका बाबजुत पनि हामीले यो कार्यक्रमलाई बजेटमा प्रस्ताव गरेका छौं,’ उनले भने ।
वन मन्त्रालयअन्तर्गतको बनस्पति विभागले कार्यान्वयन गर्ने गरी प्रस्ताव गरिएको यो कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा चालूतर्फ ८९ करोड ७१ लाख र पुँजीगततर्फ ८५ करोड २९ लाख रुपैयाँ गरी कुल १ अर्ब ७५ करोड रुपैयाँ बजेट माग गरिएको छ ।
यो कार्यक्रमले जडिबुटी पकेट क्षेत्र प्रबद्र्धनका लागि सहयोग पुर्याउने, २१ हजार १५५ मिटर सिँचाई कुलो निर्माण भई १ हजार ७४५ घरधुरीको ३२७ हेक्टर जमिनमा सिँचाई पुर्याउन सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । यद्यपि यो कार्यक्रमले सिर्जना गर्ने लक्षित रोजगारीको संख्याबारे भने मन्त्रालयले कुनै तथ्यांक खुलाएको छैन ।