धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक कक्ष विस्तार गरिएको छ ।
यसअघि आकस्मिक कक्षमा भुइँमै उपचार गराउँदै आएको गुनासो बढ्दै गएको थियो । बिरामीको अत्याधिक चाप बढ्न थालेपछि भुइँमै पनि उपचार गराउनुपर्ने अवस्था थियो ।
आकस्मिक कक्षको उद्घाटन गरिएको छ । बुधबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले रिबन काटेर नयाँ इमरजेन्सी ब्लकको उद्घाटन गरेका थिए । नयाँ ब्लकमा २१ वटा बेडको क्षमता रहेको छ ।
उनका अनुसार दुईवटा बेडको छुट्टै आइसोलेसन रूम समेत रहेको छ । उपचार गर्दा होल्डमा राख्नुपर्ने बिरामीहरूका सहजताका लागी नयाँ ब्लकको थालनी भएको उनले बताए ।
नयाँ ब्लकको विस्तारसँगै इमरजेन्सीमा फिक्स्ड बेड, परिक्षण टेबल, ट्रली गरी जम्मा १ सय ७ वटा बेडको क्षमता भएको छ । उदघाटनमा शिक्षाध्यक्ष प्रा. डा. गुरू प्रसाद खनाल, रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी, अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर शाहलगायतको उपस्थिति रहेको थियो ।