Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा

हाम्रो कोशी आवाज
बैशाख १६ २०७८, बिहिबार
सुनसरीमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा

धरानः कोरोना माहामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले पनि निषेधाज्ञा जारी गर्ने भएको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको बैठकले सुनसरी क्षेत्रभित्र भोलि शुक्रबारदेखि बैशाख २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढाकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले वैशाख १७ देखि एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यकताअनुसार स्थानीय प्रशासनले निर्णय लिनसक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको हो । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।
निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न पाइने छैन । औषधि पसल, खाद्यन्न, तरकारीलगायत अत्यावश्यक पसलहरु सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन गर्ने निर्णय भएको प्रशासनले जनाएको छ।
अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल भने सञ्चालन गर्न पाइने छ । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।
विवाहमा जाँदा ब्यानरसहित दुईवटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ ।
विवाह व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कनुपर्दा चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । मृत्यु संस्कार वा बिरामी कुरुवाका रूपमा अन्य जिल्ला जानुपर्दा विवरण खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित प्रशासन कार्यालयबाट पास लिनुपर्ने छ ।

प्रकाशित मिति: बैशाख १६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend