धरानः धरानमा काठमाडांै उपत्यका, नेपालगञ्ज, वीरगञ्जलगायत भारतबाट आउने व्यक्तिहरुलाई थप कडाई गरिने भएको छ ।
बिहीबार धरान उपमहानगरका नगर प्रमुख तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि यस्तो निर्णय गरेको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले काठमाडौं उपत्यका, नेपालगञ्ज, वीरगञ्जरगञ्जलगायत भारतबाट आउने व्यक्तिहरुलाई जाँच पनि गर्ने, सचेत पनि गर्ने, मास्कको प्रयोग अनिवार्य छ कि छैन र दुरी कायम गराउने निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यका, नेपालगञ्ज, वीरगञ्जलगायत भारतबाट धरान आएका व्यक्तिहरुलाई कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । यस्तै, तीनकुने नाकामा हेल्थ डेस्क राख्ने, सचेतनामुलक जिंगल बजाउने, सन्देशमूलक सूचनाहरु प्रवाह गरिनेछ । ‘ज्वरो आएको, शंकास्पद अर्थात प्रभावित क्षेत्रबाट आएका व्यक्तिहरुलाई एन्टिजेन टेस्ट गर्छौ, कोभिड लागेको छ छैन भनी आधा घण्टाभित्रमा रिपोर्ट आउने गरी जाँच पनि गरिनेछ ।’ उनले भने ।
यस्तै, धरानको भानुचौकमा सचेतनामुलक पम्प्लेटहरु बाँड्ने र जींगल बजाउने निर्णय गरिएको छ । मेहताका अनुसार पटकपटक बैठकहरु बसेर आवश्यक निर्णयहरु गर्दै जाने, सचेतना अभियानहरु व्यापक रुपमा गरिनेछ । यस्तै, यातायातको सवालमा सेनिटाइजरको प्रयोग गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र व्यवस्थित गरिने निर्णय भएको छ ।
बैठकमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, नगर प्रहरी, सुनसरी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, यातायात व्यवसायी संघ, यातायात मजुदर संघका प्रतिनिधि लगायत महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।