धरानः निषेधाज्ञाको पहिलो दिन आज (शनिबार) औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बैशाख २४ गते मध्यराति १२ बजेसम्मको लागि जिल्लाभर निषेधज्ञा लागू गरेको हो ।
यस्तै, डिपार्टमेन्ट स्टोर बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्ने भनिएको छ । बैंक तथा वित्तीय संस्था र अन्य अत्यावशेक सेवामा कार्यरत कर्मचारीले प्रयो गर्ने निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने जनाइएको छ ।
यस्तै, होटल तथा रेन्टरेष्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ । २५ जना (दुलाहा दुलहीसहित) भन्दा बढी विवाहमा सहभागी हुन नपाउने जनाइएको छ । यस्तै, सार्वजनिक एवं निजी सवारी साधन, सिटी रिक्सा समेतले सुनसरी जिल्लाभर जोरविजोर प्रणालीमा सञ्चालन गर्न पाइनेछ ।
नयाँ भेरियन्टको कोरोना संक्रमितहरुमा श्वासप्रश्वासमा समस्या, अक्सिजन लेभलमा समस्या, दिमागमा असर, छातीमा समस्या, ओंठमा समस्या हुने पाइएको विज्ञहरुको दाबी छ ।
निषेधाज्ञा अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन अनुसार कारबाही हुने पनि जिल्ला प्रशासनले जनाएको छ । आजदेखि अत्यावश्यक काम नपरि घरबाहिर निस्कन पाइनेछैन । यस्तै, एकै स्थानमा जम्मा भएर भेला, जुलुस, सम्मेलन, छलफल, गोष्ठी पनि गर्न पाइने छैन ।
आजदेखि सार्वजनिक तथा निजी सवारीसाधनहरु जिल्लाभर जोर गते जोर नम्बरको र विजोर गते विजोर नम्बरको मात्र सवारीसाधनहरु सञ्चालन गर्न पाइनेछ ।
यस्तै, पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने हुन्छ । विवाह वा ब्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भएर अन्य जिल्ला जानु वा फर्कनुपर्ने भए २ वटा सवारी साधनमा बढीमा ७ जनासम्मको लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।
