धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोरोना संक्रमणविरुद्धमा बेलैमा सचेत र सजग रहन नगरबासीलाई आग्रह गरेका छन् ।
नगर प्रमुख राईद्वारा जारी अपिलमा भनिएको छ, ‘कोरोना संक्रमणको अति उच्च जोखिमको क्षेत्रमा समेत परेको धरानमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको र एकजनाको मृत्यु समेत भइसकेको छ । कोरोनाबाट बच्नका लागि हालै जिल्ला प्रशासन कार्यालय सुनसरीले लागू गरेको एक साताको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न र गराउन सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दछु ।’
उनले बालक र वृद्धवृद्धाहरुले घरमै बस्ने र अत्यावश्यक काम परेमात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नका साथै साबुनपानीको प्रयोग गरी पटक–पटक हात धुन तथासामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन अनुरोध गरेका छन् ।
उनले निषेधाज्ञाको बेलामा कुनै पनि सार्वजानिक स्थान र स्थलहरुमा भीडभाड भएको देखेमा आफैले सो भीडभाड हुन नदिने र प्रहरी प्रशासनलाई जानकारी गराउन पनि अनुरोध गरेका छन् । नगरबासीमा कोभिडसम्बन्धी कुनै लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।
‘सम्पूर्ण नगरबासीहरु सबै स्वस्थ र सुरक्षित रहौं सबै मिलेर विश्वमा महामारीकोरुपमा फैलिएको यो कोभिडबाट धरानलाई जोगाउ र यसका निम्ति सबैले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गरिदिनुहुन समेत अनुरोध गर्दछु,’ अपिलमा भनिएको छ ।
