विराटनगरः कोरोना संक्रमितको उपचारका प्रयोग गरिने हुँदै आएको रेम्डेसिभिर भनी नक्कली औषधि बेच्ने पक्राउ परेका छन् ।
शुक्रबार नक्कली रेमडिसिभिरको कारोबार गरेको आरोपमा विराटनगरको साथी फार्मेसी सञ्चालक सोनु आलम पक्राउ परेका मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।
सो गिरोहले ९० रुपैयाँ पर्ने एन्टिबायोटिक इन्जेक्सन ‘स्टासेफ’ को बोतलमा रेमडिसिभिरको स्टिकर लगाएर ८ हजार रुपैयाँ देखि २५ हजार रुपैयाँसम्म बिक्री गर्दै आएको प्रहरीको दावी छ ।
रेमडिसिभिरको अवैध कारोबार गरेको सूचनामा अनुसन्धान अघि बढाएको प्रहरीले रेमडिसिभिरको नाममा अर्कै औषधि बिक्री हुँदै आएको पत्ता लगाएको हो ।
गिरोहले ‘स्टासेफ’ औषधिमा रेमडिसिभिरको स्टिकर लगाएर बिक्री गर्दै आएको प्रहरीको भनाइ छ । दुईवटै औषधिको बोतलको आकार उस्तै छ । होटल भाडामा लिएर गिरोहले स्टासेफ औषधिको बट्टामा रेमडिसिभिरको खोल र स्टिकर प्रयोग गरेर बिक्री गर्दै आएको प्रहरीको दाबी छ । स्टासेफ इन्जेक्सन एन्टिबायोटिक हो । चिकित्सकका अनुसार ज्वरो आँउदा र छाती दुख्दा यो इन्जेक्सन प्रयोग हुन्छ । स्टासेफको खुद्रा बजार मूल्य ९० रुपैयाँ पर्छ ।