Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका बैंकहरू अब केहीदिन नखुल्ने (सूचनासहित)

हाम्रो कोशी आवाज
जेष्ठ ३ २०७८, सोमबार
धरानका बैंकहरू अब केहीदिन नखुल्ने (सूचनासहित)

धरानः नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि धरानका बैंक बन्द हुने भएका छन् ।
धरानमा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर बैंकले सेवाग्राहीलाई प्रत्यक्ष सेवा नदिने जनाइएको छ ।
धरान उपमहानगरपालिकामा भएको छलफलमा कोरोनाको जोखिम बैंकबाट पनि रहेकोले बन्द गर्ने निर्णय भएको जनाइएको छ । ‘जेठ ७ गतेसम्मको लागि प्रत्यक्ष दिइने सेवा बन्द गर्ने निर्णय भएको छ’, धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने ।
कोरोनाको जोखिम बढ्दै गएको र बैंक आफैले पनि सेवा दिन नसकेको जनाएपछि इ सेवा, एटिएमसेवाबाहेकका सेवा बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।
लकडाउन नै भएपनि धरानमा बैंक खुलिरहेका थिए । बैंक जाने बहानाले मुख्य सडकमा मोटरसाइकल रोकिराख्ने, बजार घुम्ने बढेको भन्दै अधिकांशको गुनासो बढ्दै गएको थियो ।
‘हाल कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि लकडाउन छ, तर बैंक आएको भन्दै घुमघाम बढेको गुनासो बढेको थियो, त्यसैको आधारमा पनि बन्द गर्ने निर्णयमा पुगेका हौं । उनले भने ।

कोरोना नियन्त्रणका लागि धरान उपमहानगरपालिका लागिरहेको छः मेयर
उता धरानका उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिकुल मौसमको समेत प्रवाह नगरी कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएकालाई धन्यवाद दिएका छन् ।
मेयर राईले सामाजिक सञ्जालमा एक धन्यवाद सन्देश लेख्दै हिजो (आइतबार) बेलुका ६ बजेदेखि रातको साढे १० बजेसम्म प्रतिकुल मौसमको समेत प्रवाह नगरी संक्रमितको शव व्यवस्थापनमा खटिएका नेपाल आर्मी, धरान उपमहानगरका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, नगर प्रहरी प्रमुख विष्णु कोईराला, जेसिभीका प्रोपाइटर पवन अग्रवाल, शववाहन चालक भक्तबहादुर रोक्का, जेसिभीका अपरेटरलगायतका टिमलाई दिएका हुन् । उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न धरान उपमहानगरपालिका लागिरहेको पनि जानकारी दिएका छन् । ‘आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग रहने अपेक्षा गरेको छु,’ उनले भने ।
मेयर राईले कोरोना महामारीको यो दोस्रो लहरबाट जोगिनका लागि आम नगरबासीलाई सचेत र सजग रहन पनि आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा यो पनि लेख्नु भएको छ, ‘गत वैशाखयता धरानमा कोरोना महामारीको दोश्रो लहरबाट १९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । यस्तै कोरोना संक्रमितको संख्या पनि ९ सय ३३ जना पुगेको छ । कोरोना संक्रमणबाट निधन भएका नगरबासी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै, यस भाइरसबाट संक्रमित नगरबासी नागरिकमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

 

प्रकाशित मिति: जेष्ठ ३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend