धरानः धरानमा पनि कोरोना जित्ने बढ्न थालेका छन् ।
आज ५० जना संक्रमित थपिएसँगै धरानमा ९८५ संक्रमित पुगेका छन् । यसमध्ये १९ जनाको मृत्यु समेत भइसकेको छ । हाल ४ सयजना सक्रिय संक्रमित रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘हाल धरानमा ४ सयजनामात्रै सक्रिय संक्रमित छन्’, उनले भने, ‘तीमध्ये ९ जना अस्पतालमा छन्, अरु सबै होम आइसोलेसनमै छन् ।’ उनका अनुसार ९ संक्रमितको हाल पनि उपचार जारी रहेको छ ।
उनका अनुसार वैशाखयता कोरोनाको दोस्रो लहर शुरु भएयता साढे ४ सय बढी कोरोना जितेर घर फर्किसकेका छन् ।
उनका अनुसार केहीदिनयतादेखि संक्रमितको संख्या पनि नियमित घट्न थालेको छ । उनले धरनमा पिसीआर गर्नेहरु पनि बढेको तर पोजेटिभ रिपोर्ट आउने नियमित घटिरहेको बताए ।
धरानमा लकडाउनमा कडाइ गरिएको छ । प्रहरी परिचालन भएर स्वास्थ्य मापदण्ड पालना गरे, नगरेको अनुमगन हुनुका साथै हिँडडुलमा पनि कडाइ गरिएको छ । निषेधाज्ञाका बीचमा अत्यावश्यक कामबाहेक निस्किएकालाई होल्ड गर्ने गरिएको छ भने तरकारी, खाद्यान्नलगायतका पसल पनि पूर्णरुपमा बन्द गरिएको छ ।