धरानः नेपालमै गरे के हुँदैन र भन्नेमध्येका युवा हुन्– सुनसरीको इटहरीका राजु बस्नेत । इटहरी-१८ मा पर्ने रहिपुर भन्ने ठाउँमा १० कट्ठा जग्गा लिएर उनले कृषि फर्म सञ्चालनमा ल्याएर लाखौं कमाइ गरिरहेका छन् । उनको कमाइलाई लकडाउनले पनि छेक्न सकेको छैन । उनको इटहरीमा ‘बिएण्डजी’ नामक कृषि फर्म छ । अहिले त्यही फर्मको कमाइमा रमाइरहेका छन् ।
उनी विदेश पनि नबसेका होइनन् । शिक्षण पेशामा रमाउँदा रमाउँदै उनी कतार हान्निएका थिए । शिक्षण पेशाले जीविका चल्ने छाँटकाट नदेखेपछि कतार हान्निएको उनी बताउँछन् । ‘वैदेशिक रोजगारीमा साढे ६ वर्ष बसें’, उनले खुलाए, ‘विदेशमा सिभिल सुपरभाइजरको काम गर्थे, एक लाख बढी कमाउँथे, विदेशको लगानी अहिले इटहरीमा पोख्दैछु ।’
उनले १० कट्ठा जग्गा किनेर त्यसैमा लगानी गरिरहेको बताउँछन् । उनले लकडाउन भएपनि जे भएपनि विदेशको कमाइ नेपालमै हुने गरेको जानकारी दिए । ‘अहिले विदेशमा पुगेर पसिना बगाउन परेको छैन, विदेशमा हुने कमाइ नेपालमै बसी बसी कमाइरहेको छु’, उनले थपे, ‘विदेश कमाउने गरेको लाख रुपैयाँ बढी त इटहरीमै कमाउँदै आएको छु ।’
बिएण्डजी कृषि फर्म खोलेर उनले अहिले खासमा बोयर जातका बाख्रा, लोकल कुखुरा, टर्की पाल्दै आएका छन् । उनले हाल ३५ वटा टर्की, चल्ला उत्पादन, ५ सय वटा लोकल कुखुरा, मिनी हयाचरी (चल्ला उत्पादन) साथै बोयर जातका बाख्रापालन गर्दै आएका छन् । यस्तै, मललाई व्यवस्थापन गर्न खोर्सानी खेती पनि थालेका छन् । कुखुराका पनि अनेकौं प्रजातिका रहेका छन् । छडी पलाएको, पखेटा उल्टो भएको, खुट्टा कालो भएको, स्याखुनेसहित स्थानीयस्तरमा पाइने विभिन्न किसिमका कुखुरा पाल्दै आएको उनले बताए ।
उनले फर्म सञ्चालन गरेको ४ वर्ष पुगिसकेको छ । हालसम्म उनले संरचनासहित ५० लाख रुपैयाँ बढी लगानी गरिसकेका छन् । ‘अहिले ५० लाख बढी लगानी गरेको छु’, उनले भने, ‘वैज्ञानिक र आधुनिक प्रविधि अपनाए नाफा पनि हुन्छ ।’
नेपाल बैंक लिमिटेडबाट सहुलियत ऋण लिएका उनी पढेलेखेको युवा हुन् । ‘ब्याचलर पढेको हुँ’, उनले भने, ‘अहिले युवापुस्ताको कन्सेप्ट के छ भने पढेलेखेका युवाले कृषि कर्म गर्नु हुँदैन तर युवापुस्ताले नै कृषि क्षेत्र उकास्न सक्छन्, कृषिबाटै युवाले लाखौं कमाइ गर्न सक्छन् ।’ उनले अहिले २१ महिनाको अवधिमा १०० केजी बोका उत्पादन गरेका छन् ।

घरघरमै सेवा
अर्गानिक उत्पादन घरमै बसेर खान पाउने, किन्न पाउने ब्यवस्था मिलाएको उनी बताउँछन् । उनले अहिले बाख्राको पाठापाठी, हाँस, टर्की, लोकल कुखुराको चल्ला पनि उत्पादन गर्दै बेच्दै पनि आएका छन् । ‘फर्मबाट अहिले कुखुरा, टर्कीका चल्ला, बोयर जातका बाख्राका पाठापाठी बेच्दै आएको छु’, उनले भने, ‘अहिले माग उच्च छ, धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, धनकुटा, झापा, उदयपुरका विभिन्न स्थानसम्मदेखि फोन गर्दै माग गर्ने बढेका छन्, घरमै डेलिभरी समेत गर्दै आएको छु ।’
२४ लाख गुमाएपछि पनि कमाए
पूर्वाञ्चलमा हाँस, कुखुरा, पाल्ने उनी नै थिए । ‘बर्डफ्लु आएर २४ लाख नोक्सान भयो’, उनले भने, ‘२४ लाख रुपैयाँ नोक्सान भएपनि जागेर उक्सेर अहिले यो व्यवसाय गर्दै आएको छु, हार मानेको छैन, अहिले उक्सिसकेको छु ।’ उनले थपे, ‘डराउनु, हिम्मत हार्न हुँदैन, मिहिनेत गरिरहने हो भने सहजै उक्सिन्छौं ।’
उनले अहिले अधिकांश युवापुस्तालगायत कृषकलाई तालिम पनि दिँदै आएका छन् । थोरै जग्गा, थोरै लगानीमा पनि यो व्यवसाय गर्न सकिने उनको भनाइ छ । ‘थारै जग्गा र लगानीमा कसरी पनि कसरी गर्नुपर्दछ आदि इत्यादि किसानलाई निःशुल्क शेयर पनि गर्दै आएको छु’, उनी भन्छन्, ‘यसले धेरै कृषक रमाएका छन् । उक्सिएका छन् ।’ उनले अहिले आफ्नै कमाइले कार पनि किनेका छन् ।

खै कहाँ जान्छ अनुदान ?
विदेश हुँदै कृषि क्षेत्रमा होमिनेलाई अनुदान र सहुलियत सरकारले दिन्छ भनेर सुनेपछि हौसिएको बस्नेतले अहिलेसम्म अनुदान पाएका छैनन् । ‘सरकारको अनुदान पाएकै छैन’, उनले भने, ‘अहिले त्यही सहुलियत कर्जा लिएको छु, त्यसले केही सहज भने भएको छ ।’
अनुदानको लागि आफू विभिन्न ठाउँ चहारेपनि अहिलेसम्म कहीँकतैबाट अनुदान नपाएको उनले बताए । सरकारले वार्षिक करोडौं रुपैयाँ अनुदान बाँडेको समाचारबाहेक पैसा देख्न नपाएको उनको भनाइ छ । ‘सरकारले करोडौं रुपैयाँ अनुदान दिन्छ तर वास्तविक किसानलाई भन्दा पनि गैरकिसानहरुलाई ऋण दिनु दुःखद् हो’, उनले थपे ।









