Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१० लाख मजदुर कामविहीन

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७८, मंगलबार
१० लाख मजदुर कामविहीन

धरानः दोस्रो लहरको कोरोना भाइरस महामारीले संक्रमण बढेसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा गरेको छ । निषेधाज्ञा लागू गरेसँगै देशभरका साढे तीन लाख बढी सवारी साधन ग्यारेजमा थन्किएका छन् ।
कोरोना महामारीका कारण गत वर्ष पनि लकडाउन र निषेधाज्ञाले यातायात व्यवसायीले निकै कठिन परिस्थिति र घाटा व्यहोर्नु परेको थियो । साथै, गत वर्षको कोरोना महामारीले थलिएर केही तंग्रिएको यातायात व्यवसायी पुनः थला परेको छ ।
यातायात क्षेत्रमा वित्तीय संस्थाबाट कर्जा लिएर सवारी साधन किनेका र स्वरोजगार हुने मानिस तथा व्यवसायीहरू धेरै रहेका छन् । जसमा गत वर्ष कोरोनाले गर्दा यस क्षेत्रमा आबद्ध व्यवासायीले ब्याजसहितको किस्ता तिर्न नसकेको अवस्थामा दोस्रो लहरको कोरोना महामारीले झन मारमा पारेको छ ।
एकातिर ब्याजसहितको किस्ता निर्त नसकेको अवस्था छ भने अर्कोतर्फ कसरी जीविकोपार्जन अर्थात आश्रित परिवारको दैनिक हातमुख जोड्ने भन्ने समस्यामा परेका छन् ।
देशभर ३ लाख ५० हजार सार्वजनिक यातायात छन् । त्यसमध्ये करिब एक लाख ५० हजार माध्यम र ठूलो राजधानी बाहिर गुड्ने यातायात रहेका छन् भने बाँकी उपत्यकामा सञ्चालन हुने यातायातहरू रहेका छन् । अहिले उक्त सम्पूर्ण सवारी साधन थन्किएकाले अब कसरी सञ्चालन ल्याउने र कहिलेदेखि सञ्चालनमा आउनेभन्ने कुनै टुङ्गो छैन ।
यसले गर्दा यस क्षेत्रमा आबद्ध भएका व्यवसायी र मजदुरी निकै मारमा परेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्य बताउँछन् । उनका अनुसार गत वर्ष पनि यस क्षेत्रमा नकारात्मक असर परेको थियो ।
साथै, पछिल्ला दिनमा विस्तारै यस क्षेत्रले आफ्नो लय समात्न प्रयास गरिरहेका थिए । तर, देशमा दोस्रो लहरकोे कोरोनाले यातायात क्षेत्र उठ्न नसक्ने गरी थलिएको बताए ।
‘अहिले देशभरका यातायात ठप्प अवस्थामा छन् । गत वर्ष कोरोनाले गर्दा नै व्यवसायीहरूले किस्ता तिर्न सकेको थिएन,’ उनले भने, ‘पछिल्ला दिनमा केही चलायमान हुँदै गएको थियो । तर, पुनः कोरोनाले गर्दा व्यवसायीलाई निराश बनाएको छ ।’
साथै, किस्ता कसरी तिर्ने र कसरी परिवार पाल्ने भन्ने चिन्ता बढी भएको उनको बुझाइ छ । ‘यातायात क्षेत्रमा स्वरोजगार व्यवसायीलाई किस्ताको चिन्ता छ भने मजदुर व्यवसायीहरूको सह–चालक र कर्मचारीको समस्या रहेको छ । अहिले सवारी साधनभन्दा पनि पहिलो कसरी रोगबाट बच्ने भन्ने रहेको छ । त्यसैले ज्यानभन्दा ठूलो केही नभएकाले यस क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा कुनै छलफल भएको छैन,’ उनले भने ।
त्यसैगरी, अहिलेको कोरोना संक्रमणको अवस्था हेर्दा असार अघि खोल्न नसक्ने उनको अनुमान छ । साथै, त्यसबेला यातायात सञ्चालनमा ल्याए यात्रुहरूको आवातजावत नहुने उनको बुझाइ छ । यसले गर्दा आगामी दिनमा कसरी सञ्चालन गर्ने र कसरी व्यवस्थापन गर्ने कुनै टुङ्गो लाउन नसकेको उनले जानकारी दिए ।
‘दैनिक रुपमा कोरोना संक्रमण बढिरहेको छ । अब यो एक महिनाको स्थिति हेरौं । त्यसपछि अर्को महिनादेखि कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल गर्नेछौं,’ उनले भने ।
व्यवसायीहरूले गत वर्षको निषेधाज्ञा र लकडाउनको असरले गर्दा किस्ता तिर्न सकेको थिएन । जसमा व्यवसायीहरूलाई सम्पूर्ण मजुरीलाई पारिश्रमिक दिई बैशाख भरीमा तिरिसक्नुपर्ने ताकेता तोकिएको थियो । तर, अहिले लकडाउन भएकाले त्यो पनि सम्भव नभएको उनी बताउँछन् ।
लकडाउनले गर्दा यातायात क्षेत्रमा निर्भर रहेको लगभग १० लाख मानिस कामविहिन भएका छन् । उक्त क्षेत्रबाट आश्रित ४० लाख मानिसले जिविकोपार्जन गरिरहेको महासंघले जनाएको छ । यो क्षेत्रमा धेरै मानिस जोडिएकाले सरकारले केही राहत प्रदान गनुपर्नेमा सरकारले यस क्षेत्रमा कुनै सहानुभूति नदेखाएको कर्मचार्यको गुनासो छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले दोस्रो लहरको कोरोनाले यातायात मजदुर भोकभोकै पर्ने अवस्था सिर्जना भएको बताए ।
गत वर्ष पनि कोरोनाले यस क्षेत्रमा आबद्ध भएका मजदुरहरू कामविहिन बन्दै गएकोमा यो वर्ष पनि कामविहिन बनेको उनको भनाइ छ ।
अघिल्लो वर्ष पनि कोरोनापश्चात यातायात सञ्चालनको लागि यातायात व्यवसायीहरूले सरकारसमक्ष विभिन्न छलफल र चेतावनीसहित ध्यानाकर्षण बुझाएका थिए । जसमा व्यवसायीको माग पूरा नभएको अवस्थामा आन्दोलनमा उत्रिने चेतावनी सरकारलाई दिएको थियो ।
यो वर्ष पनि कोरोना महामारीको निकै प्रभाव परेकाले आगामी दिनमा कसरी सञ्चालन गर्ने विषय चिन्ताजनक बनेको उनको भनाइ छ ।
केशव अधिकारीले कामविहीन हुनुपर्दा साँझ बिहानको छाक टार्न समेत सङ्कट भइरहेको बताए । अन्य थुप्रै मजदुरहरूको पनि आफ्नो जस्तै हालत भएको बताउँदै अधिकारी भन्छन्, ‘पहिलेको लकडाउनले थलिएर बिस्तारै लयमा फर्किन थालेका थियौँ । तर, यो निशेषाज्ञाले फेरि छाक टार्न नसक्ने स्थितिमा पुर्याईदियो । काठमाडौं उपत्यकामा म जस्ता धेरै मजदुरहरू डेरा गरेर बस्छन् । अहिले हामी जस्ता मजदुरको न कोठा भाडा तिर्ने पैसा छ न छाक टार्न सक्ने स्थिति छ । दैनिक हातमुख जोड्ने समस्या पर्न थाल्यो ।’ मजदुर सङ्गठनले उनी जस्ता छाक टार्न मुस्किल भएका मजदुरलाई राहत दिनुपर्ने उनको भनाई छ ।
उनी प्रतिनिधि पात्र मात्रै हुन् । अधिकारी जस्ता देशभर करिब १० लाख यातायात क्षेत्रमा काम गर्ने मजदुरहरू अहिले काम विहीन छन् । सरकारले कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रण गर्न अत्यावश्यकबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाएको छरु। यससँगै यातायात क्षेत्रमा काम गरेर परिवार पाल्ने देशभरका करिब १० लाख यातायात मजदुर कामविहीन बन्न पुगेका हुन् ।

प्रकाशित मिति: जेष्ठ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend