बिर्तामोडः झापामा एक पुरुषले श्रीमतीमा कोरोना संक्रमणको पुष्टि भएपछि वेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन् ।
मेचीनगर–१३ स्थित चारआली बजारनजिकै डेरा गरी बस्दै आएका ती पुरुषले गर्भवती श्रीमतीमा कोरोना पुष्टि भएपछि बेवारिसे छाडेर सम्पर्कविहीन भएका हुन् ।
दमक–५ सन्देश कँडेलले ती महिलालाई छाडेर बेपत्ता भएका हुन् । संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर–१३ वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।
ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा आएर पिसिआर परीक्षण गराएकी थिइन् । सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि श्रीमानले उनलाई टहरा लगेर छाडेका हुन् । वडाध्यक्ष सिग्देलका अनुसार वडाभित्रका घटना भएकाले जिम्मेवारी वहन गर्दै ती महिलालाई टहराबाट उद्धार गरी एम्बुलेन्समा हालेर मेचीनगर नगरपालिकाले बनाएको कोभिड आइसोलेसनमा लगेको बताए ।
ती संक्रमित महिलालाई भद्रपुरस्थित मेची अस्पतालको कोभिड उपचार केन्द्रमा लगेर भर्ना गरेको उनले जानकारी दिए । ‘महिलाको साथमा उनकी बडीआमा पनि आएकी छन्,’ उनले भने ।