धरानः धरान–९ पुतलीलाइनस्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।
दैनिकरुपमा कोरोना संक्रमित बिरामीको संख्या बढ्न थालेपछि विजयपुर हस्पिटलमा कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो ।
देशभरका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारले निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम धरान उपमहानगरपालिकाले विजयपुर अस्पतालमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनका लागि सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गरिदिने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
यस विषयमा अनौपचारिकरुपमा धरान उपमहानगरपालिका र अस्पतालबीच पटक पटक छलफल बसेको थियो । हिजो मङ्गलबार धरान उपमहानगरपालिकामा २० बेडको कोभिड आइसोलेसन कक्ष सञ्चालनमा ल्याउनका लागि लिखितरुपमै निर्णय भएको मेहताले बताए ।
विजयपुर अस्पतालका सञ्चालक प्रभाव खतिवडाले २० बेडको कोभिड अस्पताल भोलि (बिहीबार) देखि सञ्चालनमा ल्याउने जानकारी दिए । सञ्चालक खतिवडाले भने, ‘२० बेडको आइसोलेसन ल्याउने तयारी अन्तिम चरणमा छ, अहिले धमाधम काम भइरहेको छ, भोलिबाट सञ्चालनमा आउनेछ ।’