विराटनगरः हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो मोरङको विराटनगर महानगरपालिका–११ रोडशेष चोकबाट २१ लाख भन्दा बढी रकमसहित पक्राउ परेका विराटनगर–१३ का २५ वर्षीय श्रवण साह र रंगेली नगरपालिका–१ की २५ वर्षीया जिज्ञासा चौधरीलाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोबारबाट प्राप्त रकम रहेको खुल्न आएसँगै सो कार्यमा संग्लग्न विराटनगर –१३ का ३३ वर्षीय अमृतकुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१ लाख ७१ हजार पाँच सय र भारतीय रुपैयाँ २३ हजार रुपैयाँ तथा विभिन्न बैकका चेकहरु बरामद गरेको थियो । त्यस्तै, अमृतकुमारको घर कोठा खानतलासी गर्दा मोवायल तथा नगद डिपोजिट रसिद बरामद भएको हो ।
यसरी ठूलो मात्रामा नगद रकमसहित पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।