धरानः धरानमा ७४ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
इनरुवा-५ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ६ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ७ गते नै अस्पताल भर्ना भएकी थिइन् । उनमा उच्चरक्तचापसम्बन्धी समस्या थियो ।
शुक्रबार ५ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, धरानमै अर्का संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
अग्निसाइर कृष्णासरवन–२ सप्तरीका संक्रमितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ४ गते नै अस्पताल भर्ना भएका थिए ।
शुक्रबार ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनी दीर्घरोगी थिए । उनमा मृगौलासम्बन्धी समस्या थियो ।
शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।