धरानः नेपाल तरुण दल धरान उपमहानगर समितिले तत्काल अनुगमन थाल्न माग गरेको छ ।
तरुण दलले बजार अनुगमन तत्काल थाल्न माग गर्दै प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकषर्ण गराएको छ । बन्दाबन्दीमा पनि अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु सीमित समयमा खुला रहेको तर अत्याधिक मूल्यवृद्धि र कालोबजारी भइरहेको जनगुनासो बढेकोले प्रभावकारी बजार अनुगमन गर्न माग गरिएको तरुण दलले जनाएको छ ।
तरुण दलले महिनादिनको बन्दाबन्दीमा ब्यापारीमा लट्री परेझैं, चाडबाड आएकोझैं गरी लुट्ने कार्य भइरहेको भन्दै जनगुनासो समेत बढेको जनाउँदै यस्तो गतिविधि तुरुन्त रोक्न माग गरेको छ ।
अध्यक्ष हिमाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा व्यापारीले खाद्यान्न सामग्री तोकिएको थोक तथा खुद्रा मूल्यभन्दा शत प्रतिशत मुनाफा गरी बिक्री गर्ने, कालोबजारी गर्ने कार्य भइरहेको जनाइएको छ ।
कोरोना भाइरसका कारण जनजीवन आतङ्कीत भइरहेका बेला व्यवसायीहरुले दैनिक उपभोग्यलगायत अत्यावश्यक वस्तुहरुको मनपरी मूल्य बढाउँदा उपभोक्ता मारमा परेको उनको भनाई छ ।
‘आम जनता कोरोना त्रासमा बाँच्न बाध्य भइरहेको अवस्थामा मङ्गी चुलिएकोले रासन सामग्री खरिद गर्न नसकी भोकले मर्ने भएकोले अस्वभाविकरुपमा बढेको मूल्यवृद्धिलाई तुरुन्त रोक्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा उनले भनेका छन्, ‘शत प्रतिशत मुनाफा खाने व्यापारीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्छ, यदि यसो नभएमा तरुण दल आफैं अनुगमनमा निस्कन बाध्य हुनेछ ।’
हाल अत्यावश्यक वस्तु मास्क, सेनिटाइजर, औषधि, खाद्यान्न लगायत चर्को मूल्यवृद्धि भइरहेको छ ।
