धरानः धरान उपमहानगरपालिकाले अब घरघरमै कोरोना संक्रमितलाई औषधिलगायतका अन्य स्वास्थ्य सामग्री लैजाने तयारी थालेको छ । धरान उपमहानगरकै बजेटमा सो सामग्री आउन लागेको हो ।
आज (बिहीबार) नै ५ सयजनालाई पुग्नेगरी औषधिलगायत अन्य कुराहरु प्याकिङ भइसकेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए । ज्वरो आएमा खाने औषधि, शरीर कटकटी खाँदा प्रयोग गरिने औषधि, शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि, भिटामिन, सेनिटाइजर, मास्कलगायतका सामग्रीसहित २० जना स्वास्थ्यकर्मी खटाइएको उनले जानकारी दिए । उनले औषधि साथै स्वास्थ्यकर्मीलाई परामर्शका लागि पनि भनिएको बताए ।
‘भोलि शुक्रबारदेखि संक्रमितको घरघरमै पुग्ने लक्ष्य छ’, उनले भने, ‘यसका लागि २६ जना स्वास्थ्यकर्मी खटाइनेछ, उनीहरुले औषधिसहित परामर्श पनि प्रदान गर्नेछन्।’
उनले यसअघि २० जना स्वास्थ्यकर्मीले संक्रमितलाई परामर्श दिइरहेको जानकारी दिए । अहिले धरानमा ५ सय ७० जनाभन्दा बढी सक्रिय संक्रमित रहेको जानकारी दिए । ‘अहिले ५७० जनाभन्दा बढीसक्रिय संक्रमित छन्’, उनले थपे, ‘अधिकांश होम आइसोलेसनमै छन् ।
उनका अनुसार धरान उपमहानगरपालिकाको सक्रियतामा स्थापित हरियाली सामुदायिक वनस्थित आइसोलेसनमा ४ जना संक्रमित रहेका छन् । हरियालीमा २५ बेड क्षमताको आइसोलेसन तयार छ । त्यस्तै, विजयपुर हस्पिटलमा १० जनाको बेड क्षमता भएको आइसोलेसन रहेको र त्यहाँ संक्रमितले भरिएको जानकारी दिए ।
‘५ सय ७० जनाभन्दा बढी सक्रिय संक्रमितमध्ये १३ जनााई सास फेर्न अप्ठ्यारो, ज्वरो आउने, खोकी लाग्ने भएपछि हाम्रै समन्वयमा एम्बुलेन्समार्फत् अस्पताल पठाएका छौं’, उनले भने, ‘अन्यको अवस्था सामान्य नै छ, ज्वरो, रुघाखोकीबाहेक अन्य केही छैन ।’
स्वास्थ्य टोली घरघरमै पुग्दा पनि मनोबल बढ्ने हुनाले यस्तो कार्यक्रम ल्याइएको उनले जानकारी दिए । ‘खासमा भन्ने हो भने संक्रमितका लागि घरघरमै स्वास्थ्यकर्मी हुनुपर्ने हो भने तर त्यो सम्भव छैन तर पनि घरघरमै स्वास्थ्यकर्मी पुगिहाले बिरामीको मनोबल उच्च रहन्छ र चाहिने स्वास्थ्य सामग्रीले छिटो निको हुन मद्दत पुग्छ भन्ने आशा राखेका छौं ।’
धरानमा कोरोनाको दोस्रो लहर शुरु भएयता १६ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २९ जनाको निधन समेत भइसकेको छ ।