Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खाद्यान्नमा मूल्यवृद्धिबारे छलफल

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०७८, शुक्रबार
धरानमा खाद्यान्नमा मूल्यवृद्धिबारे छलफल

धरानः सुनसरी उद्योग वाणिज्य संघले खाद्यान्नको दरभाउ र आपूर्ति सम्बन्धमा थोक विक्रेताहरुसँग बिहीबार छलफल कार्यक्रमको आयोजना गरेको छ ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा थोक बिक्रेताहरुसँग खाद्यान्नको आपूर्ति, वितरण र हाल बजार भाउ वृद्धिको व्यापक जनगुनासो आइरहेकोले त्यस सम्बन्धमा छलफल गरिएको थियो ।
संघका प्रथम उपाध्यक्ष तथा बजार अनुगमन तथा आपूर्ति समितिका संयोजक शिवराज श्रेष्ठले व्यवसायीहरुलाई एमआरपी दररेट भन्दा बढीमा सामान बिक्री नगर्न आग्रह गरेका थिए । सम्पूर्ण उपस्थितहरुलाई स्वागत मन्तव्य राख्दै श्रेष्ठले यदि बिक्री गरिने वस्तुहरुमा एमआरपी उल्लेख नभएको भए बिल बमोजिम सम्पूर्ण खर्च जोडी थोरै नाफामा बिक्री गर्न आग्रह गरेका थिए ।
धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदराज सापकोटाले हाल बोइलर कुखुराको मासु तथा सागसब्जीको मूल्य वृद्धि भइरहेको तथा विशेषगरी बेकरीको आइटममा उत्पादन मिति उल्लेख नगरेको बताए । त्यसैगरी इलाका प्रशासन कार्यालयका प्रमुख सुवासकुमार लामिछानेले गुणस्तर र परिमाण अनुसार दरभाउ कायम हुनुपर्ने र यदि मूल्यवृद्धि भएको प्रमाणित भएमा आवश्यक कार्वाही गर्न सुनसरी उद्योग वाणिज्य संघले सहयोग गर्नुपर्ने बताए ।
संघका कार्यसमिति सदस्य विष्णु बरालअनुसार सो कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले अनुगमन गरेर व्यापारीहरुलाई आतंकित बनाउने उपमहानगरपालिकाको चाहना होइन, तर मूल्य र उत्पादन मिति सम्बन्धमा व्यापारीहरु पनि इमान्दार हुनुपर्ने बताएकी थिइन् ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले विशेषगरी हाल तेलको मूल्यवृद्धि सम्बन्धमा व्यापक गुनासो आइरहेको र तेलको मूल्यवृद्धि स्थानीय व्यापारीहरुबाट नभई अन्तर्राष्ट्रिय क्षेत्रबाटै भएको बताए ।
सनफ्लावर तेल युक्रेन, रसिया र अर्जेन्टिनाबाट आयात हुूदै आएकोमा हाल ती देशहरुमा करिब ६० प्रतिशत उत्पादनमा कमी भई पर्याप्त मात्रामा आयात हुन नसकेकोले मूल्यवृद्धि भएको बताए । त्यसैगरी रिफाइन तेलको कच्चा पदार्थ ब्राजिल र साउथ अमेरिकाबाट आयात हुँदै आएकोमा उत्पादनमा कमी हुँदाहुँदै पनि करिब ७३ प्रतिशत कच्चा पदार्थ चाईनाले खरिद गरेपछि अन्य बजारमा अभाव भई मूल्यवृद्धि भएको बताए । सापकोटाले यदि नियतवश कुनै पनि व्यापारीले अनैतिकरुपमा मूल्यवृद्धि गरेको थाहा पाए आवश्यक कारवाही गर्न सहयोग गर्ने समेत बताए । सापकोटाले हाल बजारमा थोक बिक्रेताले चिनी खरिद गर्दा उद्योगमै ८५ रुपैयाँ पर्ने र ढुवानी, लोड अनलोड खर्च र भ्याट रकम समेत गर्दा समेत त्यसको मूल्य पहिलको भन्दा बढी भएको बताए ।
संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको उक्त कार्यक्रममा वाणिज्य सचिव सीताराम आचार्यले यदि ग्राहकलाई खाद्यान्न, विशेषगरी चामल, दाल, नून, चिनी लगायतका सामाग्री होम डेलिभरी गर्नुपर्ने भए सुनसरी उद्योग वाणिज्य संघले आवश्यक व्यवस्था गर्ने तयारी भइसकेको समेत बताएका थिए ।

प्रकाशित मिति: जेष्ठ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend