धरानः अन्ततः सुनसरीमा एक सातासम्म लकडाउन अर्थात् निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि जारी निषेधाज्ञा जेठ १५ गते राति १२ बजेदेखि सकिँदैछ ।
कोरोना संक्रमणको जोखिम कम नभएपछि धरानलगायत सुनसरीमा सातादिनसम्म लकडाउन लम्ब्याइएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक सातासम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । जसअनुसार अब जिल्लामा जेठ २२ गतेसम्म निषेधाज्ञा जारी रहने छ ।
‘थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय भएको छ,’ प्रजिअ ढकालले भने ।
यसअघि जेठ भोलि अर्थात् १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी थियो । यसअघिको निषेधाज्ञामा तरकारीदेखि खाद्यान्न पसलसमेत बन्द गरिएको थियो । यसपटक पनि यसैलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआएको हुनाले निषेधाज्ञा सातादिन लम्ब्याइएको जानकारी दिए ।
‘विशेषतः निषेधाज्ञाले संक्रमणदर पनि घटेको पाइएकोले फलदायी भएको पाइएको छ भने जनप्रतिनिधिबाट पनि यस्तै कुरा आएको हुनाले निषेधाज्ञा थपिएको हो ।’
सुनसरीमा वैशाखयता ३१ सय बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ९० जनाको मृत्यु भइसकेको छ । उनले हाल कोरोना संक्रमणको दर घट्दो रहेको जानकारी दिए । ‘निषेधाज्ञा लगाइएपछि कोरोना संक्रमण दर घट्दै आइरहेको छ हप्तादिन जारी निषेधाज्ञाले अझै केही नियन्त्रणमा आउँछ भन्ने हो’, उनले भने ।



