धरानः धरान उपमहानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि खोप खरिद गर्ने भएको छ ।
संघीय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै खोप खरिद गर्ने भएको हो ।
मेयर तिलक राईले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप खरिद स्वीकृतिको लागि माग राख्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश विराटनगरमा बोधार्थ पत्र पठाएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै स्रोतबाट खोप लगाउने योजना बनाएको पत्रमा उल्लेख गरेका छन् ।
एक लाख नागरिकको पहिलो र दोश्रो मात्राको खोप लगाउनको लागि दुईलाख डोज खोप धरानमा आवश्यक पर्ने भएको भन्दै मेयर राईले स्वीकृति प्रदान गर्न माग गरेका हुन् । धरानबासी स्वास्थ्य भए मात्रै नगर विकासको कार्य अगाडी बढ्ने मेयर राईले बताए ।
धरानमा कोरोनाको दोश्रो भेरियन्ट आए यता १६८६ जनामा संक्रमण देखिएको छ । हाल सक्रिय सक्रमितको संख्या ५७० रहेको छ भने ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

