धरानः धरानमा महामारीको समयमा सुकुम्बासीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ ।
धरानभरीको सुकुम्बासीलाई कोरोना पोजेटिभ सुकुम्बासीलाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको नेपाल बसोबास वस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।
कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर राखी एम्बुलेन्स सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । धरान उपमहानगरपालिकाभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।
दोस्रो चरणको कोरोनाको सङक्र्रमण तीब्र हुन थालेपछि आफ्नै पहलमा कोरोना पोजेटिभ भई घरमा बसेका उपमहानगर क्षेत्रका बिरामीलाई स्वास्थ्य जटिलता भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा दिने उनले जानकारी गराए । ‘धेरैलाई गाह्रो साह्रो परेको भन्ने सुनिएको छ’, उनले भने, ‘त्यही भएर पोजेटिभ देखिएका र स्वासप्रश्वासमा समस्या भएकाहरुलाई अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएका छौं ।’ उनले भने ।
आफूले नै व्यक्तिगत खर्चमा भाडामा एम्बुलेन्स लिइएको र पहिलो प्राथमिकतामा एम्बुलेन्स सेवा दिन थालिएको उनले जानकारी दिए । ‘आफ्नै खर्चमा यो एम्बुलेन्स सेवा दिन लागिएको हो’, उनले भने, ‘कसैलाई गाह्रोसाह्रो भए सम्पर्क गरिदिनु हुन अनुरोध छ ।’
उनले देशैभरी यस्तो काममा पहलकदमी भइरहेको उनले जानकारी दिए । ‘काठमाडौंमा रहेका संक्रमितलाई खान, बस्न, उपचार सेवा प्रदान गरिसकेका छौं’, उनले भने, ‘देशैभरी कोरोना संक्रमितको उपचारका लागि निःशुल्क एम्बुलेन्सको पहलकदमी भइरहेको छ ।’
धरानमा मात्रै करिब १२ हजार सुकुम्बासीको बसोबास रहेको छ भने ५६ हजार घर परिवार यहाँ आश्रित छन् ।
भौतिक दूरी कायम गर्न, अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र निस्कनुपरेमा अनिवार्य मास्क लगाउनेलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि उनले आग्रह गरेका छन् ।
