Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा छैन राहत

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७८, सोमबार
धरानमा छैन राहत

धरानः धरानका सुकुम्बासी नेता कुमार कार्कीले फेसबुकमा पोष्ट्याए- धरान उपमहानगरपालिकालाई मेरो अनुरोध दैनिक ज्यालादारीमा मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने बिपन्न सुकुम्बासी वर्गको लागि खोइ राहत? तत्काल राहतको प्रबन्ध गरिदिनु हुन अनुरोध गर्दछु ।
उनको पोष्टयाइले विपन्न सुकुम्बासी मात्रै हुँदा खाने वर्गहरु पनि अहिले समस्यामा छन् । अघिल्लो वर्ष जताततै राहत वितरण हुने गरेको थियो । राज्य र धेरै संघसंस्था अनि व्यक्तिगतरुपमै पनि राहत वितरण भएको थियो तर यस वर्ष कहीँकतैबाट राहत वितरण नभएको गुनासो बढ्न थालेको छ ।
‘भोक सहनै गाह्रो भइसक्यो भनेर गुनासो आउन थाल्यो’, नेता कार्की भन्छन्, ‘हुन पनि हो गरिखाने वर्ग अहिले बढी मारमा परेका छन्, छाक टार्नै मुस्किल भइसकयो, ५ किलो भएपनि ल्याइदिनुपरयो सर भनेर फोन आउन थालिसक्यो ।’
धरानमा निषेधाज्ञा भएको तीनहप्ता भइसकेको छ । धरान उपहानगरपालिका, राजनीतिक पार्टी लगायतले अहिलेसम्म चुँसम्म नबोलेको उनको भनाइ छ । ‘अहिलेसम्म न उपमहानगरपालिका बोल्छ, न सुकुम्बासीको भोटका लागि राजनीति गर्ने राजनीतिक दल नै यो विषयमा बोलेका छन् ।’ उनले उपमहानगरपालिकामा पत्र बुझाउने तयारी भइरहेको जानकारी दिए । ‘सुकुम्बासीका विपन्न परिवारका लागि केही सोचिएन, अहिले गरिखाने वर्ग बढी मारमा परेका छन्, त्यही भएर सुकुम्बासीको फोनसमेत आउन थालेकोले अप्ठयारो देखाउँदै स्थानीय सरकारसमक्ष पुग्छौं ।’ उनले भने ।

धरानका बाँदरको पनि खानाको टुङ्गो छैन
विपन्न सर्वसाधारणजस्तै धरान उपमहानगरपालिकाभित्र रहेका बाँदरको पनि खानाको टुङ्गो छैन ।
सामान्य अवस्थामा सधैंजसो भीडभाड हुने धरानको मुख्य सडक, पुरानो बजार आदि क्षेत्रमा निर्भर रहने बाँदर अहिले लकडाउनका कारण त्यो क्षेत्र सुनसानजस्तै छन् । ती क्षेत्रमा मानिसको उपस्थिति नभएपनि बाँदर भने देखिन्छन् ।
तर ती बाँदर लकडाउनका कारण भोकै परेका छन् । मानिसको आवागमन हुँदा बाँदरले खान पाउँथे । अझ भन्ने हो भने धरानका मुख्य क्षेत्रतिर फलफूल, तरकारीलगायत दिइहाल्नेले दिइहाल्थे नदिए चोरेर, खोसेरसमेत भोक मेट्थे । तर मानिसको आउजाउ नै नभएपछि बाँदरको पेट भर्ने बाटै बन्द भएको छ ।
धरानका धार्मिक पर्यटकीय क्षेत्रतिर बाँदरलाई फलफूलगायतका खानेकुरा समेत दिइन्थ्यो । अहिले त्यो समेत पाइरहेका छैनन् ।
बाँदर मात्र होइन सडकका कुकुर पनि भोको पर्न थालेका छन् । सामान्य अवस्थामा होटल, रेष्टुराँ, मासु पसल सञ्चालन हुने भएकाले सडकका कुकुरलाई पेट भर्न समस्या थिएन । लकडाउनका कारण ती पसल बन्द छन् । जसका कारण कुकुरले खान पाएका छैनन् । सडकमा कसैलाई देखे तिनकै पछि लाग्छन् । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मानिसहरु घरवाहिर ननिस्कँदा त्यसको असर बाँदर, कुकुरलगायत सडकका चौपायाको जीवन संघर्षपूर्ण भएको छ ।
भोकका कारण बाँदरमा रिसाउने, झगडा गर्नेलगायत समस्या बढेको धरान–१ पुरानो बजारस्थित मदन अग्रवाल बताउँछन् । ‘अहिले आफ्नै साथीलाई पनि झम्टिने, चिथोर्ने, कराउनेलगायतका समस्या देखिन थालेको छ ।’ उनले भने ।
कसैकसैले ढोका खोलेरै पनि रोटीलगायतका खानेकुराहरु दिने गरेपनि त्यतिले बाँदरलाई नपुग्ने उनको भनाइ छ । ‘फलफूललगायत अन्य कुराहरु सहजै खान पाइरहेका छैनन्, रोटीले मात्रै कहाँ हुन्छ र ?’ उनले भने ।
भोकको रिसले बाँदरले मान्छेलाई टोक्ने, चिथोर्ने जोखिम हुने उनको भनाइ छ ।
‘प्राय मन्दिर वरपर रहने बाँदरलाई श्रद्धालुले फल र अन्य खानेकुरा दिन्थे । तर, मानिसहरु घरबाट निस्कनै छोडेपछि बाँदरले न खान पाएका छन् न खाना दिने मान्छे नै देखिन्छन् । अहिले भोका बाँदरहरु आक्रमक बन्दै गएका छन् ।’ उनले भने ।
‘मानिसहरु बाहिर ननिस्कँदा बाँदरहरु भोकै छन् ।’, धरान–१ की सुसन अग्रवाल भन्छन्, ‘यिनीहरु मानिसले दिएको, फ्याँकेको खानामा निर्भर हुन्छन् तर मानिस नै बाहिर ननिस्केपछि कसको के लाग्छ ?’
धरानमा वैशाख यतादेखि जेठ २२ गतेसम्म निषेधाज्ञा छ ।
तस्वीरहरू: हाम्रो कोशी आवाज

प्रकाशित मिति: जेष्ठ १७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend