ताप्लेजुङः कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङको स्थानीय जनप्रतिनिधि स्वास्थ्य टोलीसहित गाउँ–गाउँमा संक्रमितको पहिचान गर्न पुग्न थालेका छन् । सङ्क्रमण नियन्त्रण गर्नका लागि गाउँ–गाउँमा कोरोना सङ्क्रमितको पहिचान गर्न थालिएको हो ।
कोभिड–१९ सङ्क्रमण गाउँ–गाउँमा बढ्दै गए पछि स्थानीय जनप्रतिनिधि नियन्त्रण गर्नका लागि सक्रियरुपमा लागेका छन् । फुङलिङ नगरपालिकाभित्रका विभिन्न गाउँ–गाउँमा जनप्रतिनिधि र स्वास्थ्य टोली पुगेर कोभिडसँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई परिक्षण गर्न थालिएको छ ।
मेयर छत्रपति प्याकुरेल र उपमेयर बमबहादुर भट्टराई (तारा), नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुञ्जु गुरुङ र जिल्ला अस्पतालका स्वास्थ्य प्राविधिकहरु शुक्रबार फुङलिङ नगरपालिका–११ वडा नम्बर फावाखोला गाउँमा पुगेर ६९ जनाको स्वास्थ्य परीक्षण गरेका छन् । एन्टीजेन किटद्वारा कोभिड परीक्षण गरिएकोमा ६ जनाको कोभिड संक्रमित पुष्टि भएको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुरले बताए ।
आइतबार फुङलिङ नगरपालिका–१० फुरुम्बो गाउँमा कोभिडसँग मिल्दोजुल्दो लक्षण भएकाहरुका परीक्षण गरिएको थियो । सोमबार फुङलिङ नगरपालिका बजार विभिन्न नागरिकहरुलाई परीक्षण गरिएको उनले बताए । यसअघि क्याम्पस लाइन, बालमन्दिर क्षेत्र, तोक्मे क्षेत्रहरुमा कोभिड परीक्षण भइसकेको छ ।
सिरिजङ्घा गाउँपालिकामा संक्रमितहरुको घरघरमा गएर आवश्यक स्वास्थ्य सामग्री र भिटामिन उपलब्ध गराउँदै आएको सिरिजंघा गाउँपालिकाका स्वास्थ्य शाखाले जानएको छ । गाउँपालिकाभित्रका कोभिड संक्रमित बिरामीहरुलाई उपचारको लागि नेपालको जनसुकै अस्पतालसम्म एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँने निर्णय समेत गाउँपालिकाले गरेको पालिकाले जनाएको छ ।

सिदिङ्वा गाउँपालिकाले कोभिड कन्ट्रोल रुम स्थापना गरेर कोभिड नियन्त्रणको पहल गरिरहेको सिदिङवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन लिङदेनले बताए । प्रत्येक वडाहरुमा कोभिड लक्षण देखा परेलगत्तै नियन्त्रणका लागि पहल हुने लिङदेनले बताए । पालिकामा पाँच शथ्याको कोभिड अस्थायी अस्पताल पनि सञ्चालनमा रहेको सिदिङवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्येन्द्रप्रसाद यादवले बताए ।
पाथीभरा याङवरक गाउँपालिकाका जनप्रतिनिधिहरु सङ्क्रमण फैलिन नदिनका लागि एक गाउँदेखि अर्को गाउँ जान निषेधाज्ञा लागू गरेको पाथिभरायाङवर गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिहरुले पनि गाउँ–गाउँमा गएर कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकोहरुको पहिचान गरेर परीक्षण गराउँदै आएको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले बताए । गाउँपालिका आफ्नो एम्बुलेन्समार्फत् कोभिड संक्रमित बिरामीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा समेत दिँदै आएको सिटौलाले बताए ।
ताप्लेजुङ जिल्लामा गत बैशाख ११ गतेदेखि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासनले जेठ २४ गतेसम्म निषेधाज्ञा लागू गरेको छ । ताप्लेजुङका ९ स्थानीय तहहरुले अत्यावश्यक सेवाबाहेक अरु सबै सेवा स्थगित गरेर कोभिड नियन्त्रणमा लागेका छन् ।
ताप्लेजुङमा हालसम्म एक हजार ९ सय ४९ जनाको पिसिआर परीक्षण भएको छ । जसमा ६८ जनाको परिक्षणको रिपोट आउँन बाँकी छ । पिसिआर परीक्षणबाट ४९६ कोभिड पुष्टि भएको ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताइन् । एटिजेन किटमार्फत ९२४ परिक्षण भएको मध्ये १८९ जनाको कोभिड पुष्टि भएको खरेलले बताइन् । दोस्रो लहरमा ताप्लेजुङमा ६९४ जना कोभिड संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालको तथ्यांकमा छ । २०१ जना निको भएर सामान्य जीवनयापनमा फर्केका छन् । ताप्लेजुङमा १० जना संक्रमितको मृत्यु समेत भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।