धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकृति, विसङ्गति, बेथिति र भ्रष्टाचार बढेको भन्दै धरानबासी जाग्ने भएका छन् ।
धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा बसेको राजनीतिक दल, नागरिक समाजको बृहत छलफलले प्रतिष्ठान सुधार्नका लागि नागरिक समाजसहितको दबाव सिर्जना गरी प्रतिष्ठान सुधार्न लागिपर्ने जनाइएको छ ।
बुधबार नागरिक समाजका अगुवा, पत्रकार, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी, लिम्बुवान, जनमुक्ति पार्टी, राप्रपालगायत अन्य साना दलहरुबीचको छलफलले बीपी सुधार्न जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने जनाइएको छ ।
बुधबारको भेलाले धरान नगर सरकार समेतको उपस्थितिमा तत्काल एक बृहत बैठक बसी प्रतिष्ठानको बारेमा अवधारणा समेत निक्र्यौल गर्ने र सो कार्यका लागि स्थानीय सरकार, नागरिक सञ्जाल तथा सम्पूर्ण राजनीतिक दलहरुको केहीदिनमा संयुक्त बैठक बस्ने निर्णय भएको नागरिक समाजका प्रा.डा. राजेन्द्र शर्माले जानकारी दिए ।
केहीदिनपछि बस्ने भनिएको भेलामा अवधारणापत्र समेत नागरिक सञ्जालले तयार गर्ने निर्णय समेत भएको उनले जानकारी दिए । भेलाले नवसञ्जाल समेत तयार भएको छ । नव सञ्जालमा प्रा.डा. शर्मा संयोजक छन् । नव सञ्जालले नै संयुक्त बैठक डाक्नेछ । सञ्जालमा पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बो, प्रा. हरिप्रसाद, नागरिक समाजका गौरीशंकर अग्रवाल, अग्रज पत्रकार हर्ष सुब्बा, भवानी बराल तथा महिला सञ्जालकी चेतना श्रेयङ रहेकी छिन् ।
धरानको समग्र ख्याति पुनरुत्थान साथै बीपी प्रतिष्ठानमा देखिएको विकृति, विसङ्गति र भ्रष्टाचारलाई चिर्न यो समिति सधैं सक्रिय रहने जनाइएको छ । अब बन्ने सञ्जालले धरानमा देखिएका सबै प्रकारका विकृति, विसङ्गतिविरुद्ध आवाज उठाउने जनाइएको छ ।
भेलामा बोल्दै पूर्व नगर प्रमुख मेन्याङ्बोले प्रतिष्ठानमात्रै नभई समग्र धरानको विकासका लागि धराने जाग्नुपर्ने बेला आएको बताए । कार्यक्रममा बोल्ने अधिकांशले प्रतिष्ठानमा तत्कालै भएको कोभिडका बिरामीलाई भर्ना नलिने समस्या, अक्सिजनको कमी, हुँदै आएका भ्रष्टाचार, लापरवाही, आकस्मिक कक्षमा प्रतिष्ठानका संरचना, बिरामीमाथि हुने अमानवीय व्यवहार, उपकुलपतिको राजनीतिक नियुक्ति, अहिलेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यशैली, धराने जनताले डाक्टर बन्न नपाएका पीडालगायत सबै कुरा ओकलेका थिए । उनीहरुले अहिले उपकुलपति गिरीले फोन समेत नउठाउने गरेको गुनासो गरेका थिए । ‘उनले प्रधानमन्त्री, मुख्यमन्त्री, स्वास्थ्यमन्त्रीबाहेक अन्यको फोन नै उठ्दैन समेत भन्ने गरेका छन्’, धरान उपमहानगरपालिकाका मेयर तिलक राई भन्छन् । प्रतिष्ठानमा अहिले कोभिड अस्पताल, इमरजेन्सी, आइसियु, अक्सिजनलगायतका सेवामा लापरवाही हुँदै आएको समाचार बाहिरिरहेका छन् । यस्तै, सर्वसाधारणका लागि दिइने सानातिना सेवाहरुमा समेत लापरवाही हुँदै आएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज











