धरानः अन्ततः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार्न दबाव सञ्जाल बनेको छ ।
धरान उपमहानगरपालिकामा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, राजनीतिक दलका संक्रिय नेता कार्यकर्ता, नागरिक समाजका अगुवालगायत अभियन्ताहरुबीच भएको बृहत छलफलले दबाव समूह गठन भएको हो ।
प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा ‘धरान नागरिक दबाव सञ्जाल’ बनेको छ । दबाव सञ्जालको सदस्य सचिवमा डा. कमल तिगेला, सदस्यहरुमा नागरिक समाजका मनोजकुमार मेन्याङ्बो, प्राध्यापक हरिप्रसाद दाहाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, प्राध्यापक आनन्द आचार्य, अग्रज पत्रकार हर्ष सुब्बा, भवानी बराल, गौरीशंकर अग्रवाल, नरप्रसाद लुङफुङवा, चेतना श्रेङ, शिखा चेम्जोङ, हिरा उदास, राजविमल श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केशव घिघिरे, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, आदिवासी जनजाति महासंघका अध्यक्ष सुवास हुक्पाचोङवाङ रहेका छन् । दबाव सञ्जालले विशुद्ध राजनीतिक हिसाबले काम गर्ने र दलहरुले साथ दिने जनाइएको छ । संयोजक प्रा.डा. शर्माका अनुसार सञ्जालका लागि राजनीतिक दलले होस्टेमा हैंसे गर्नेछन् ।
यस्तै, विभिन्न सामाजिक संघसंस्था, प्रतिष्ठित व्यक्तित्व, समाजसेवी, नागरिक अभियन्ता, बुद्धिजीवीहरु सम्मिलित सदस्यहरु थप गर्दै जाने निर्णय समेत भएको माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघाले जानकारी दिए । उनले शुरुमा बीपी प्रतिष्ठान सुधार्नकै लागि दबाव दिने जानकारी दिए । ‘खासमा भन्ने हो भने प्रतिष्ठान हाम्रो धरानका गहना हो, तर अहिले लथालिङ्ग, थङ्थिलो अवस्थामा पुगेको छ, यसका लागि सुधार्न दबाव दिने हो’, उनले थपे, ‘धरानका यतिका प्रबुद्ध व्यक्तित्व, राजनीतिक दल, नागरिक समाजले सुधार्दा नलागे ‘कथाले मागे’ अनुसार अघि बढ्छौं ।’ उनका अनुसार कथाले मागेअनुसारको तात्पर्य कडा खालको आन्दोलन र बीपीका पदाधिकारी हटाउनेसम्मकै हो ।
सञ्जालले बीपी प्रतिष्ठानबाट प्रवाह हुने सेवा चुस्तदुरुस्त बनाउन दबाव दिने र धरानको साख फर्काउन समेत लाग्ने भएको छ । ‘पहिलो कुरा त बीपी प्रतिष्ठान सुधार्न नै लाग्ने हो’, संयोजक प्रा.डा. शर्माले भने, ‘त्यसपछि नियमितरुपमा धरानकै साख फर्काउन पनि लाग्ने भएका छौं ।’
यसका लागि धरान उपमहानगरपालिकाले समन्वय गर्ने भएको छ । बीपीका पदाधिकारीलगायत अन्यसँग छलफललगायतका वातावरण मिलाउने जिम्मा उपमहानगरपालिकाको रहेको मेयर तिलक राईले जानकारी दिए । यस्तै, अनुगमन समिति गठन गर्न पहल गर्ने, अनुगमनपछि प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, बीपीका गतिविधि प्रदेश, संघीय सरकारलाई जानकारी गराउने साथै विगतमा प्रतिष्ठानमा बुझाइएको ध्यानाकर्षण र ज्ञापनपत्रलाई कार्यान्वयनका लागि पहल गर्ने समेत निर्णय भएको उनले जानकारी दिए ।
यस्तै, धरान उपमहानगरपालिकाले प्रतिष्ठानमा हेल्प डेस्क राख्ने निर्णय भएको धरान उपमहानगरपालिकाका मेयर राईले जानकारी दिए । ‘त्यहाँ धरानबासीको गुनासो सुन्न, प्रतिष्ठान हाम्रो हो भावनाको विकास गराउन साथै अनुगमन, रेखदेखका लागि पनि हेल्प डेस्क राख्नेबारे पहिलादेखि नै सोंचेका हौं, यसले समग्र धरानबासीको लागि हित हुनेछ भन्ने सोच्दै हेल्प डेस्क राख्ने निर्णयमा पुग्यौं ।’ उनका अनुसार प्रतिष्ठानमा एउटा कोठा माग गर्ने र त्यहाँ दुईजना कर्मचारी राखेर हेल्प डेस्क राखिनेछ ।
प्रतिष्ठानमा विकृति, विसङ्गति, बेथिति र भ्रष्टाचार बढेको भन्दै उनीहरु केही समयअघिदेखि लागिपरेका थिए ।
धरानको समग्र ख्याति पुनरुत्थान साथै बीपी प्रतिष्ठानमा देखिएको विकृति, विसङ्गति र भ्रष्टाचारलाई चिर्न यो समिति सधैं सक्रिय रहने जनाइएको छ । छलफलमा उपस्थिति अधिकांशले उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यशैलीले प्रतिष्ठान अझै धराशायी बन्दै गएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए । उनीहरुले अहिले उपकुलपति गिरीले फोन समेत नउठाउने गरेको गुनासो गरेका थिए ।
प्रतिष्ठानमा अहिले कोभिड अस्पताल, इमरजेन्सी, आइसियु, अक्सिजनलगायतका सेवामा लापरवाही हुँदै आएको समाचार बाहिरिरहेका छन् । यस्तै, सर्वसाधारणका लागि दिइने सानातिना सेवाहरुमा समेत लापरवाही हुँदै आएको छ ।








