Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-लेउती सुरुङमार्गः आगामी वर्षको अन्त्यसम्ममा ठेक्का

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०७८, सोमबार
धरान-लेउती सुरुङमार्गः आगामी वर्षको अन्त्यसम्ममा ठेक्का

धरानः सुरुङमार्गका तस्वीर तथा भिडियोहरु देख्नेवित्तिकै तपाईं हामीलाई विदेशको झल्को आइहाल्छ । र, मनमा प्रश्न उब्जिहाल्छ हाम्रो देशमा पनि कहिले यस्तो बन्ला ?
नेपालीहरुको आफ्नै देशको सुरुङमार्गमा सवारीसाधन हुइँक्याउने सपना पूरा हुन अब धेरै समय कुर्नुपर्ने छैन । मुलुक सुरुङ युगमा प्रवेश गरिसकेको जनाइएको छ ।
सरकारले यही जेठ १५ मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सुरुङमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । सुरुङमार्ग निर्माणका लागि १३ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।
सरकारले सुरुङमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका कारण सडक विभागका अधिकारीहरु उत्साहित देखिन्छन् । बजेटको उपलब्धता तथा निर्माण नै शुरु भएपछि मुलुक सुरुङयुगमा प्रवेश गरेको विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैशी बताउँछन् ।
सरकारले आगामी आर्थिक वर्षदेखि ३ वटा सुरुङमार्गको निर्माण घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर–लाप्चे, धरान–लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका छन् । यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको अन्र्तराष्ट्रिय बोलपत्र आहर्वान भइसकेको छ ।
अर्थमन्त्रीले दोलखाको लामावगर–लाप्चे र धरान–धनकुटा सडक खण्डको धरान–लेउती सुरुङ मार्ग निर्माण शुरु गर्न बजेट व्यवस्था गरेको बताएका छन् । निर्देशक डा. जैशीका अनुसार लामाबगर–लाप्चे सुरुङमार्गको निकाल्नका लागि आवश्यक सबै तयारी पुरा भएको छ । यसको सम्भाव्यता अध्ययन भइसकेको छ । लामाबगर–लाप्चे सुरुङमार्गको अध्ययन प्रतिवेदन हाइड्रो टनेलिङ एण्ड रिसर्च परेको हो । अवस्था सामान्य रहे आगामी २ महिनाभित्रमा ठेक्का निकालिने उनले बताए ।
धरान–लेउती सुरुङमार्गको हाल सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए । यो अध्ययन नेपाली परामर्शदाताले गरिरहेका छन् । आगामी आर्थिक वर्षको अन्त्यसम्म ठेक्का निकाल्ने तयारी गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend