धरानः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नं. प्रदेश समिति, धरानले मोटर बीमा प्रिमियम छुट गर्न माग गरेको छ ।
विश्वव्यापीरूपमा फैलिएको गतसालको कोरोना भाइरसका कारण लामो समयको लकडाउनबाट थिलथिलो भएको यातायात ब्यवसाय पुनः दोस्रो चरणको कोरोना भाइरसले निषेधाज्ञाको सामना गरी पुनः सवारी साधन घर ग्यारेजमा पत्रु हुने अवस्थामा थन्काएर राख्नुपरेको पीडामा गत वर्षझैं बीमा समितिको निर्देशनमा लकडाउन अवधिको बिमा शुल्क छुट प्राप्त भएको थियो । सोही प्रवृत्तिको अवस्था अहिले पनि सामना गर्नुपरेकोले पुनः निषेधाज्ञा अवधिको बीमा शुल्क छुटका लागि अनुरोध गरिएको प्रदेश १ संयोजक सरोज श्रेष्ठले जानकारी दिए ।
१ नं प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आबुहाङसँग भेट गरी यातायात ब्यवसायीको समस्या राख्दै सो माग गरिएको उनले जानकारी दिए । उनले सो ज्ञापनपत्र यातायात व्यवस्था विभाग काठमाडौं, आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई बोधार्थ पठाइएको जानकारी दिए ।
लकडाउनमा घर ग्यारेजमा थन्किएको अवधिको बीमा प्रिमिययम छुट, बीमा नवीकरण अवधि थप गर्ने वा नवीकरण सहुलियत दिएर भएपनि सहयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए ।
उनका अनुसार निषेधाज्ञा अझ लम्बिन सक्ने र धेरै सवारी साधनहरुको बीमा फेल भएको साथै निषेधाज्ञा खुल्ने वित्तिकै सवारी साधनको बीमा नवीकरण गर्नुपर्ने अवस्थाले पिरोल्दै गएको हुनाले गत वर्षझैं निषेधाज्ञा अवधिको बीमा प्रिमियम छुट र दावीरहितको अवधिको छुट दिने व्यवस्थाका लागि आवश्यक निर्देशन गरिदिन आग्रह गरिएको छ ।


