धरानः निषेधाज्ञाले सुनसान धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित बिरामी आइरहने । त्यसमा पनि कोरोना कहरमा त बिरामीको संख्या एक्कासी बढ्यो । बिरामीसँगै धेरै कुरुवा पनि बीपी प्रतिष्ठान आइरहन्थे तर धरान सुनसान बनिदिँदा प्रतिष्ठान छेऊछाउकै पनि होटल खुलेका थिएनन् । बिरामी कुरुवालाई खानाको समस्या हुन थाल्यो । यही कुरालाई मध्यनजर गर्दै धरान–१७ बासी जुटिहाले ।
‘शुरुवातमा १५ जना जुटेर आफैं खानाको बन्दोबस्त गर्ने भन्दै लाग्यौं’, धरान–१७ का वडाध्यक्ष समेत रहेका मनोज भट्टराई भन्छन्, ‘नियमित खाना खुवाउन थाल्यो, अहिले २९ दिन पुगिसकेछ ।’
शुरुवातमा समूहमा जुटेका धरान-१७ बासीले नै खाना खुवाउँदै गए । ‘कसैले ५ हजार, कसैले १० हजार, कसैले १५ हजार त कसैले २० हजारसम्म पनि सहयोग गरे’, वडाध्यक्ष भट्टराईले भने, ‘पछि धरान-१७ बासीदेखि अन्य वडाका मानिसहरुले पनि सहयोग गर्न थाले, त्यसपछि सहज हुँदै गयो ।’ उनका अनुसार प्रतिष्ठानकै कतिपय कर्मचारीले पनि यस कार्यमा सहयोग गर्दै आएका छन् ।
जेठ १ गतेदेखि खाना खुवाउन थालेको धरान–१७ सचेत नागरिक समूहले शनिबार २९ दिन पुगेको छ । वडाध्यक्ष भट्टराई भन्छन्, ‘थाकेका छैनौं ।’
धरान–१७ इमानुयल इङ्लिस स्कुलका प्रिन्सिपल समेत रहेका प्रभाष राजवंशीले आमाबाबुको सम्झना, स्मृति, आफ्नो बर्थडे साथै मन हुनेहरुले सहयोग गर्दै गएको बताए । कसैले तरकारी, कसैले धान, चामल, नगद दिएर सहयोग गर्दै आएको उनले जानकारी दिए । ‘हामीले कसैलाई फोन गरेर वा अन्य तरिकाले सहयोग मागेका छैनौं’, उनले भने, ‘मन हुनेले यहाँसम्म नै ल्याइदिन्छन्, हामी खाना बनाएर खुवाउँछौं ।’ यदि कसैबाट सहयोग नआए समूहकै साथीहरुबाट ‘म्यानेज’ गर्दै आएको उनले जानकारी दिए ।
उनका अनुसार अहिले १७ स्थित सप्तरंगी पार्कमै खाना बन्दै आएको छ । ‘सबै जोहो गरेर पार्कमा खाना बनाउँछौं’, वडाध्यक्ष भट्टराईले भने, ‘पाकिसकेपछि प्याकिङ गरेर सवारी साधनमा राखेर प्रतिष्ठानको कुरुवासम्म पुरयाउँछौं ।’
संक्रमितको सहयोगीहरु सबैलाई लकडाउनमा खाना खानै समस्या नआवोस भनेर बिहान बेलुकी दुवै छाक निःशुल्क खाना वितरण गर्दै आएको उनले जानकारी दिए । बीपी प्रतिष्ठानमा उपचारका लागि ल्याइएका बिरामीका आफन्तलाई होटल, लजहरू समेत बन्द हुँदा खाना खान असहज हुँदै आएको थियो ।















