विराटनगरः मोरङको सुनवर्षी–८ स्थित हर्चनगढीमा एक युवाको हात्तीको आक्रमणबाट मृत्युु भएको छ ।
कुँडेली घर भएका २० वर्षका मनोहर मियाँको शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि उनी हात्तीको फोटो खिच्न गएको बेलामा उनलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको रङ्गेली प्रहरीले जनाएको छ ।
जङ्गली हात्ती भारतबाट नेपाल प्रवेश गरेर बिहानै रङ्गेली ५ स्थित आमगाछी हुँदै सिक्टी क्षेत्रमा पुगेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए । आक्रमणबाट घाइते बनेका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्य भएको उनले जानकारी दिए ।
सो हात्तीले भारतमा चार जनालाई मारेर नेपाल छिरेको बताइएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार एकाबिहानै हात्ती कुरेली क्षेत्रमा देखा परेको थियो । उनी फोटो खिच्न र हात्ती धपाउन भन्दै हात्तीको पिछा लागेका थिए । स्थानीय समेत भेला भएर होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो । हात्ती धपाउँदा धपाउँदै हात्तीको नजिकै पुगेर फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी फोटो खिच्ने धुनमै रहँदा उनले हात्ती नजिक आएको चालै पाएनन् । फोटो खिच्ने सुरमा रहेका उनलाई हात्तीले एक्कासी आक्रमण गरेको थियो ।
बस्तीमा छिरेर वितण्डा मच्चाउँदै मान्छे मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर जङ्गली हात्ती नेपाल आइपुगेको जानकारी प्रहरीले दिएको छ । स्थानीयको सहयोगमा प्रहरीले धपाएपछि हात्ती कुरेलीबाट बक्राहा खोला हुँदै रतुवामाईतिर लागेको छ ।







