धरानः कोभिड १९ अस्पताल बाहिर निर्माण भएको कुरुवा घर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ ।
सोमबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर हस्तान्तरण गरेको हो । अग्रवाल समाजका वयोवृद्ध ९३ वर्षीय महावीरप्रसाद अग्रवालले कुरुवा घर हस्तान्तरण गरे ।
कार्यक्रमका अध्यक्ष समेत रहेका मेयर तिलक राईले कोभिड अस्पतालमा उपचाररत बिरामीको आफन्तहरुलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर मारवाडी सेवा समिति र नेपाल अग्रवालसभाले कुरुवा घर निर्माण गरिदिएको बताए ।
उनले बिरामीको आफन्तहरु अत्यन्तै अव्यवस्थित तरिकाले अस्पताल बाहिर बसेको गुनासो आएपछि शौचालय, स्नानघरसहितको कुरुवा घर निर्माण गरिएको जानकारी दिए ।
मेयर राईले यहाँ कुरुवा घर बनाउन पनि चुनौतिपूर्ण रहेको बताए । ‘यहाँको गाउँको मान्छेहरुलाई मनाउन चुनौतिपूर्ण थियो, यो भन्दा अगाडी कोभिड अस्पताल बनाउँदा पनि समस्या थियो, यहाँ राख्न हुँदैन भनिरहेको थियो, हामीले मनायौं’ मेयर राईले भने ।
मेयर राईले कुरुवाहरुको लागि सुचना बोर्ड राख्न प्रतिष्ठानलाई आग्रह गरे । ‘कम्तिमा प्रतिष्ठानले, मैले अस्ति पनि भनेको थिए, एउटा सूचना बोर्ड राखिदिनुस् कुरुवाहरुको लागि, एउटा बिरामीका लागि कति जना कुरुवा बस्छ, इन्ट्री गराउनुस् नाम, को को बस्छ ? ब्रिफिङ गर्ने समय तालिका बनाउनुस्, कुरुवाको नाममा फटाहा मानिसहरु आउला, कसैको सामान हराउला,’ मेयर राईले भने । मेयर राईले मारवाडी सेवा समिति र नेपाल अग्रवालसभाले धरानमा थुप्रै सामाजिक कार्यहरु गरेको बताउँदै प्रशंसा समेत गरे ।

उपमेयर मञ्जु भण्डारीले बिरामीको आफन्तको लागि मारवाडी सेवा समितिले कुरुवा घर निर्माण गरेर परोपकारी कार्य गरेको बताए । अस्पतालमा उपचाररत बिरामीको सही ढंगबाट उपचार हुनुपर्नेमा उनले जोड दिए । कुरुवा घरलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न पनि उनले सुझाव दिए ।
बीपी प्रतिष्ठानका निमित्त उपकुलपति एवं रेक्टर डा. गुरु खनालले कोभिड अस्पतालमा कुरुवा घर आवश्यक रहेको बताउँदै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभालाई धन्यवाद दिए । प्रतिष्ठानले अब कुरुवा घरको व्यवस्थित तरिकाले संरक्षण गरेर राख्ने बताए ।
मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले मेयर सा’बले आग्रह गरेपछि कुरुवा घर निर्माण गरिदिएको बताए । ‘संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछि मेयर सा’बको पहलमा ब्यवस्थित कुरुवा घरसहित शौचालय, बाथरुम हामिले निर्माण गरि दिएका छौंं,’ उनले भने । उनले १८ फिट चौडाई र ८० फिट लम्बाई भएको कुरुवा घर, १८ फिट चौडाई र १२ फिट लम्बाई भएको शौचालयसहितको स्नानघर प्रतिष्ठानलाई हस्तान्तरण गरिएको जानकारी दिए ।१८ लाख रुपैयाँको लागतमा कुरुवा घर निर्माण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए । उनले पनि कुरुवा घरलाई संरक्षण गरेर राख्न आग्रह गरे ।
कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, नेपाल अग्रवाल सभाका अध्यक्ष पवन अग्रवाल, धरान उपमहानगरपालिकाका कानुनी सल्लाहकार जेके साम्पाङ, न्यायिक समितिका सदस्य विकास बनेपालीको उपस्थितिमा कुरुवा घर हस्तान्तरण गरिएको थियो ।


