Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा निषेधाज्ञाले भोकै

हाम्रो कोशी आवाज
असार १० २०७८, बिहिबार
सुनसरीमा निषेधाज्ञाले भोकै

धरानः गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारबाट बञ्चित सुनसरीको कोशी गाउपालिका–७ हरिपुरस्थित सुकुम्बासी वस्तीका २ सय २७ र इनरुवा नगरपालिका–८ स्थित खिक्रीपट्टिका २५ गरि २ सय ५२ घर सुकुम्बासी तथा विपन्न परिवारलाई बिहीबार नेपाल बसोबास बस्ती संरक्षण समाजले खाद्य सामग्री वितरण गरेको छ ।
समाजका केन्द्रीत अध्यक्ष कुमार कार्की, जिल्ला अध्यक्ष थाम्सेर लिम्बू, कोशी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामचन्द्र मेहता, समाजका जिल्ला सदस्य रामनारायण मण्डल, धरान नगर सदस्य सीताराम राईलगायतले २ हजार ५२० किलो चामल, दाल, नुन, तेल, सोयबिनलगायतका खाद्य सामग्री वितरण गरेका थिए ।
कोरोना महामारीले लकडाउन भएका कारण सामान्य रोजगारबाट बञ्चित देशैभरका सुकुम्बासीहरुलाई समाजले खाद्य सामग्री वितरण गर्दै आइरहेको छ ।
यो महामारीको बेला सरकारले राहत दिन नसकेका कारण समाजले विभिन्न संस्था र ब्यक्तिको सहयोगमा सुकुम्बासीहरुलाई राहत वितरण गरिरहेको अध्यक्ष कार्कीले बताए ।
प्रत्येक सुकुम्बासीका झुप्राहरु महल बन्नुपर्ने बताउँदै कार्कीले सुकुम्बासीहरु अब जग्गाको मालिक बन्नुपर्ने बताए । राजनीतिक दलहरुले देशमा सधै गरिब राखेर राजनीति गर्न नहुने कार्कीको तर्क छ । सुकुम्बासीहरुको चुलो नबली रहेको अवस्थामा देशभरका ७० लाख सुकुम्बासीहरुको गाँस, बास, कपास, सुरक्षा र रोजगारको ग्यारेन्टीका लागि समाज क्रियाशील रहेको कार्कीले बताए ।
हरिपुर सुकुम्बासी टोलका दुखुवा सदा भन्छन्, ‘लकडाउनले गर्दा काम छैन पेट भोकै हुन्छ, हात्ती, अर्ना आएर दुःख दिन्छ रातभरी सुत्न सकिँदैन, नेपाल बसोबासले यति भएपनि राहत दिएको छ खुशी छौं ।’
वडा नम्बर–७ हरिपुरकै परमेस्वरी देवी मुखियाको ब्यथा पनि उस्तै छ । ‘लकडाउन नहुँदा खेतीपातिको सिजनअनुसार धान काट्न, गहुँ काट्न, धान रोप्न जान्छौ अलि अलि कमाएर ल्याउँछौं, अहिले त्यो पनि छैन खान नै समस्या छ आज सुकुम्बासी समाजले राहत दिएकोमा खुशी छौं’, परमेश्वरी भनिन् ।
यस्तो महामारीको समयमा स्थानीय सरकारले आफूहरुलाई कुनै राहत प्याकेज नदिएको हरिपुरकै रम्भादेवी मुखियाको गुनासो छ । उनी भन्छिन्, ‘हामी गरिबलाई कसैले हेर्दैन रहेछ, गरिब झन गरिब हुँदै गइरहेका छन्, बाल बच्चालाई पोशाक, कापी–कलम किन्ने पैसा नभएर विद्यालय पठाउन पनि सकिएको छैन ।’
महामारीभरी विभिन्न दाताहरुलाई सहयोगको लागि आग्रह गरी सुकुम्बासी परिवारलाई राहत वितरण गरिने समाजका केन्द्रीय अध्यक्ष कार्कीले जानकारी दिए ।
तस्वीरहरुः तिर्थ

प्रकाशित मिति: असार १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend