धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि तालाबन्दी भएको छ ।
बेथितिको विरुद्धमा आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले त्यहाँ ताला लगाएको हो । ७ दिने अल्टिमेटम दिँदै प्रतिष्ठानका चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ । संयुक्त संघर्ष समितिले आफ्नो माग पूरा गर्न एक साताको अल्टिमेटम दिएको छ । असार २३ गतेभित्र माग सम्बोधन नगरिए सम्पुर्ण फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक विद्यार्थीहरुले समूहिक राजिनामा दिने चेतावनी दिएको छ ।
प्रतिष्ठानमा बढ्दो बेथितिको अन्त्यको माग गर्दै असार १ गते देखि त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीले गर्दै आएको आन्दोलनको क्रममा हिजो पदाधिकारीसँग वार्ता गर्ने क्रममा उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले रक्सी खाएर वार्तास्थलमा उपस्थित भएकोले वार्ता भाँडिएको भन्दै बुधबारदेखि ७ दिने अल्टिमेटमसहित पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन अघि बढाएको संघर्ष समितिले जनाएको छ ।
यसैबीच मङ्गलबार उपकुलपति डा. ज्ञानेन्द्र करिब ५ घण्टापछि बाहिर निस्किएका थिए । आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले मापसले गरेर उपकुलपति डा. गिरीले असामान्य गतिविधि देखाएको भन्दै मंगलबार नाराबाजी गर्न थालेपछि उनलाई प्रहरीले कार्यालयमा लगेको थियो । आन्दोलनरत पक्षले उपकुलपति गिरीको मापसे चेक गर्नुपर्ने अडान राखेका थिए । तर डा. ज्ञानेन्द्रले मापसे चेक गर्न मानेनन् ।
आन्दोलनरत पक्षलाई गिरीले मंगलबार दिउँसो वार्ताका लागि बोलाए पनि मापसे गरेर लठ्ठ भएको भन्दै वार्ता भाँडिएको थियो । बीपीमा आन्दोलन चलेको १५ दिन भइसकेको छ ।
प्रतिष्ठानमा बेथिति बढेको भन्दै धरानका विभिन्न ९ राजनीतिक दल र धरान नागरिक दबाव सञ्जालले पनि दबाव दिँदै प्रतिष्ठान सुधारको माग गर्दै आएका छन् ।
प्रतिष्ठान सुधारको माग राखेर धरानका सबै राजनीतिक दल, नागरिक समाज र प्रतिष्ठानका चिकित्सक कर्मचारीले आन्दोलन थालेपछि प्रतिष्ठानका उपकुलपति गिरी सम्पर्कमा आएका थिएनन् ।