Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका उपकुलपतिले वार्तामा बोलाए

हाम्रो कोशी आवाज
असार १७ २०७८, बिहिबार
धरानको बीपी प्रतिष्ठानका उपकुलपतिले वार्तामा बोलाए

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेका छन् । आन्दोलनरत पक्ष संयुक्त संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनैवार्ता नगर्ने घोषणा गरेको बेला बुधबार विज्ञप्ति जारी गर्दै उपकुलपति डा.गिरीले सौहार्दपूर्ण वार्ताको आह्वान गरेका हुन् ।
वार्ताका दौरानमा आफूले कसैलाई कुनै प्रकारको दुव्यबहार नगरेको बताएका छन् । प्रतिष्ठानमा विभिन्न समस्या रहेको स्वीकार्दै उपकुलपति डा. गिरीले अहिले चलिरहेको आन्दोलनले त्यसलाई निकास दिने विश्वास आफूले राखेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उपकुलपति, रजिस्टारसहित प्रतिष्ठानका चारै जना पदाधिकारीको बहिर्गमनलाई मुख्य मुद्दा बनाउँदै आन्दोलनकारी चिकित्सक तथा कर्मचारीले कार्यकक्षमा तालाबन्दी गरेकै दिन समेत उनले वार्ताको आह्वान गरेको पनि बताएका छन् ।
उनले आन्दोलनरत पक्षको प्रतिष्ठान शुद्धिकरण अभियानलाई खुला हृदयले स्वागत गर्ने पनि बताएका छन् । साथै, आन्दोलनरत पक्षमा राष्ट्रप्रतिको कर्तव्य, नयाँ युगको सपना, स्वास्थ्य क्षेत्रको संवेदनशीलताप्रति गहिरो, अटुट र अटल निष्ठा देखेको पनि खुलाएका छन् ।

प्रतिष्ठानमा आएको १५ महिनाको दौरानमा काम गर्दैगर्दा आफ्नो तर्फबाट कुनै कमजोरी भएको भए त्यस्ता कार्यको संवैधानिक अख्तियारवाला निकायबाट अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन सहयोग गर्ने प्रतिबद्धता पनि उनले विज्ञप्तिमा जनाएका छन् ।
उपकुलपति गिरीले अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई प्रष्टीकरण सोधपछि बीपीमा पछिल्लो आन्दोलन सुरु भएको थियो । लगत्तै काठमाडौं गएर लामो समय बसेका उनी सोमबार साँझ धरान आएका थिए । प्रतिष्ठानमा अब पदाधिकारी नियुक्त गर्दा विभिन्न आयोगले निर्धारण गरेका मापदण्डहरु पालना गरेर पारदर्शीरुपमा छनोट गर्नुपर्ने आन्दोलनकारीको माग छ ।
संयुक्त संघर्ष समितिले डा. गिरीले मादक पदार्थ सेवन गरेर वार्तामा आएको भन्दै उनको मापसे जाँच गर्न माग गर्दै उपकुलपतिको कार्यकक्ष बाहिर चर्को नाराबाजी र उपकुलपतिको कार्यालय घेराउ गरिएको थियो । त्यहाँ ब्यापक मात्रामा प्रहरी समेत परिचालित थियो तर आन्दोलनरतपक्ष घर घर लागेपछि उनलाई त्यहाँबाट सुरक्षाकर्मी परिचालित गरी विराटनगर पुरयाइएको थियो ।
बुधबार उपकुलपतिसहित प्रतिष्ठानका चारैजना पदाधिकारीको कार्यकक्षमा ताला लगाइएको छ ।
उता संयुक्त संघर्ष समितिले बुधबार नै विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका पदाधिकारीहरुसँग कुनै वार्ता नहुने जनाएका छन् । संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले असार २३ गतेसम्म माग सम्बोधन नभए प्रधानमन्त्री कार्यालय घेर्ने र संयुक्त राजीनामा दिने चेतावनी दिएका छन् ।
संयुक्त संघर्ष समितिले बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिँदै बिहान ८ बजेदेखि १० सम्म उपकुलपतिको कार्यकक्ष बाहिर सभा गरेको छ । उपकुलपति डा. गिरीले अनियमितताविरुद्ध बोल्ने चिकित्सकलाई स्पष्टीकरण सोधेपछि प्रतिष्ठानमा आन्दोलन शुरु भएको थियो ।

प्रकाशित मिति: असार १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend