धरानः धरान उपमहानगरपालिकाले किसानलाई ८ क्वाइल पाइप हस्तान्तरण गरेको छ ।
धरान उपमहानगरपालिका परिसरमा उपमेयर मञ्जु भण्डारीले धरान वडा नं. २० स्थित कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसानलाई ८ क्वाइल पाइप हस्तान्तरण गरेकी हुन् ।
उपमेयर भण्डारीले विष्णुपादुकामा रैथाने धान उत्पादन हुने बताउँदै यस धानलाई संरक्षण गर्न उपमहानगरपालिका लागेको बताए ।
धरान उपमहानगरपालिकाका कृषिशाखा अधिकृत नगेन्द्र तामाङका अनुसार कृषि समूहलाई ४ लाख ८३ हजार रुपैयाँ बराबरको पाइप प्रदान गरिएको हो ।
सङ्घीय सरकारको सशर्त अनुदानको राष्ट्रिय महत्वको बाली प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पकेट कार्यक्रमअन्तर्गत किसानलाई पाइप उपलब्ध गराइएको उनले जानकारी दिए ।
सङ्घीय सरकारबाट सशर्त अनुदान भनेर २० लाख रुपैयाँ बजेट आएको छ । राष्ट्रिय महत्वको बाली (रैथाने धान) धान पकेट कार्यक्रम सञ्चालनका लागि सो बजेट आएको हो । कोकाहा बहुउदेश्यीय कृषि समूहमा १६ जना छन् । लाभान्वित घर परिवार संख्या ४० जना छन् । विष्णुपादुकाको २० हेक्टर जमिनमा स्थानीय रैथाने धान रोप्ने गरिएको छ ।