धरानः धरान उपमहानगरपालिकाको ९ औं नगरसभा सम्पन्न भएको छ । नगरसभाले आव २०७८–०७९ को बजेट पारित भएको छ ।
शनिबार सम्पन्न नगरसभाको तेस्रो बैठकले बजेट तथा विनियोजन विधेयक (व्यय) पारित गरेसँगै आगामी आर्थिक वर्ष २०७८–०८९ को लागि २ अर्ब ३ करोड ६४ लाख रुपैयाँको बजेट पारित भएको छ ।
बैठकमा उपमेयर मञ्जु भण्डारीले विनियोजन विधेयक प्रस्तुत गरेकी थिइन् । शुक्रबार भएको नगरसभाको दोस्रो बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक (आय) पारित गर्दै आज सम्मका लागि स्थगित गरेको थियो ।
दोस्रो बैठकमा विनियोजन विधेयकमाथि विनियोजन विधेयकमाथि बोल्न चाहनेहरुलाई शनिबार बिहानसम्म नगरसभाको सचिवालयमा नाम टिपाउन समय दिइएको थियो । नाम टिपाएका नगरसभा सदस्यहरुले शनिबारको बैठकमा कुरा उठाएका थिए ।
बैठकमा विधेयक प्रस्तुतकर्ता उपमेयर भण्डारीले सदस्यहरुले उठाएको कुरा प्रष्ट पारेकी थिइन् । सम्पन्न नगरसभा बैठकमा अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक नरेशकुमार इवारमले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नगरसभाका सभाध्यक्ष समेत रहेका मेयर तिलक राईले विधेयक पारित गर्न प्रस्ताव गरेपछि ध्वनि मतले सर्वसम्मतरुपमा बजेट तथा विनियोजन विधेयक पारित गरेका थिए । मेयर राईले नगरसभा सदस्यहरुलाई शुन्य समयमा आफ्ना जिज्ञासाहरु राख्न दिइएको थियो ।
मेयर राईले बैठकमा हाल उपचाररत वडा नं. २ की सदस्य सन्ध्या श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । नगरसभामा अनिवार्य पोशाक लगाएर आएका सदस्यहरुलाई प्रति व्यक्ति ५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री प्रदान गर्ने प्रतिबद्धता गर्दै मेयर राईले ९ औं नगरसभा सम्पन्न भएको घोषणा गरेका थिए ।