धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियानलाई धरानका ९ राजनीतिक दलहरुले पनि समर्थन गर्दै मौन रयालीमा सहभागिता जनाएका छन् ।
धरानस्थित बीपी प्रतिष्ठानको उपकुलपति कार्यालय अगाडिबाट निस्किएको मौन रयाली शिवमार्ग, बुद्धचोक हुँदै बीपी प्रतिष्ठानको गेटअगाडि रहेको बीपीको शालिकसम्म पुगेर टुङ्गीएको थियो ।
अभियानमा ऐक्यबद्धता जनाउन धरानका ९ राजनीतिक दलका प्रतिनिधिहरु पनि रयालीमा सहभागी हुन पुगेको माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघाले जानकारी दिए । उनले उनीहरुको आन्दोलन स्वार्थरहित रहेकोले आफूहरु पनि उनीहरुको आन्दोलनमा समर्थन जनाउन पुगेको उनले जानकारी दिए ।
प्रतिष्ठानमा पदाधिकारी नियुक्तिमा हुने राजनीतिकरण रोक्न झन्डै महिनादेखि आन्दोलनरत चिकित्सक, विद्यार्थी, नर्स र कर्मचारीहरुलाई साथ दिन आफूहरु त्यहाँ पुगेको उनले जानकारी दिए ।
यसअघि पनि पटक पटक विरोध रयाली हुँदै आएको छ । उनीहरुले शिक्षा र स्वास्थ्य हुने चरम राजनीतिकरण अन्त्य हुनुपर्ने बताउँदै आएका छन् ।
यसअघि धरान नागरिक दबाव सञ्जाललगायत ९ राजनीतिक दलले पनि प्रतिष्ठानको विकृति, विसङ्गति सुधारको माग गर्दै आएका छन् । प्रतिष्ठानलाई पदाधिकारीहरुले कमाइ खाने भाँडो बनाउँदै धरासायी बनाएको, स्वास्थ्य उपचारमा हेलचेक्रयाइँ, सर्वसाधारणको उपचार सेवामा भन्दा कमिसनको खेलमा व्यस्त हुने गरेको बताउँदै धरासायी प्रतिष्ठान जोगाउनु अहिलेको आवश्यकता भन्दै आएका छन् ।
पन्ध्र महिनाअघि प्रतिष्ठानको उपकुलपति भएर आएका प्राडा ज्ञानेन्द्र गिरीको कार्यशैलीप्रति पनि चिकित्सक, कर्मचारी, धरान नागरिक दबाव सञ्जालले छुट्टाछुट्टै आन्दोलन गर्दै आएका हुन् ।
९ राजनीतिक दलमा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, राप्रपा, र राप्रपा नेपाल समेत आन्दोलनमा उत्रिएका छन् ।
