धरानमा निषेधाज्ञा हुँदा सुनसान बनेको भानुचोक । फाइल तस्वीरः लक्ष्मण थापा
धरानः धरानलगायत सुनसरीमै कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि थपिने भएको छ ।
आज (बिहीबार) असार ३१ गते निषेधाज्ञाको समय सकिँदैछ । साउन १५ गतेसम्मका लागि निषेधाज्ञा थप्न सकिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । ‘आज बस्ने डिसिसीएमसीको बैठकले थप निर्णय गर्नेछ’, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘संक्रमित बढेको पाइएको छ, निषेधाज्ञा थपिन्छ ।’
सुनसरीमा पनि जोर–बिजोरको नियम हट्ने भएको छ । सुनसरीमा जोर-बिजोर प्रणालीअनुसार यातायात चल्दै आएको छ । उनले छिमेकी जिल्लामा जोरबिजोरको नियम हटाइएको र सुनसरीमा पनि हट्ने बताए । ‘छिमेकी जिल्ला मोरङमा जोर–बिजोरको नियम हटेको छ, त्यसैले पनि यहाँ पनि जोरबिजोरको नियम हट्छ’, उनले भने । असार ३१ गतेसम्म जोरबिजोरका आधारमा सार्वजनिक र निजी गाडी सञ्चालन हुने जनाइएको थियो ।
उनले धरानमा अलि बढी संक्रमित देखिएको कारण अहिले नै निषेधाज्ञा खुकुलो बनाउने भन्नेबारेमा केही निर्णय हुन नसक्ने बताए । ‘अन्यतिर पनि संक्रमित बढेका बढ्यै छन् तर धरानमा अलि बढी संक्रमित थपिँदै गएको भन्ने जानकारी आएको छ, त्यही भएर धरानमा ‘टाइट’ नै गर्ने हो ।’
सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याइने बताए । ‘निषेधाज्ञा यथावत् रहन्छ’, उनले भने, ‘भनेजति र सोंचेजति सबै एकैपटक ह्वात्तै खुल्दैन ।’
जिल्लामा गएको वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थपिँदै गएको छ । उनका अनुसार भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न पाइँदैन ।
यस्तै, सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, कोचिङ सेन्टर, विश्वविद्यालयहरू सञ्चालन गर्न पाइने छैन ।
धरानमा दोस्रो लहरयता अहिलेसम्म ३ हजार ७ सय ६ जनामा दोस्रो लहरमा कोरोना सङ्क्रमण भएको छ भने ९४ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा दिनहुँ ७० देखि ८० जनासम्म संक्रमित छन् ।








