धरानः धरानमा कोरोना सङ्क्रमित बढ्दै गएपछि धरान उपमहानगरपालिका थप सतर्क बनेको छ । प्रचारप्रसार र सचेतना अभियानलाई तीब्रता दिइने धरान उपमहानगरपालिकाले जनाएको छ ।
कोभिड–१९ सङ्क्रमण तीब्र गतिमा फैलिएको भन्दै यसलाई रोकथाम तथा नियन्त्रण गर्न केही दिनसम्म भीडभाड हुने स्थान र कोरोना सङ्क्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा कन्टयाक्ट ट्रेसिङ गरिने जनाइएको छ ।
बिहीबार उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले पछिल्लो समय धरानमा कोरोना सङ्क्रमणदर दैनिकरूपमा वृद्धि हुँदै गएको कारण यस्तो निर्णय गरेको हो ।
धरानका भीडभाड हुने स्थान, बजार तथा मुख्य चौकहरुमा अनुगमनलाई तीब्रता दिइने जनाइएको छ । ‘पहिलो फेजमा माइकिङलगायत अन्य प्रचारप्रसार, मास्क अनिवार्य लगाउन सचेतनालगायतका कार्य गरिनेछ’, धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भने, ‘दुई चारदिनपछि पनि स्थिति जस्ताको त्यस्तै रहे निषेधाज्ञामा कडाइ गर्न सकिनेछ ।’
मेयर राईले पछिल्लो समय धरानमा कोरोना सङ्क्रमणदर भयावह स्थिति बन्दै गएको बताए । बैठकमा उपमेयर मञ्जु भण्डारी, कार्यकारी अधिकृत विदुरप्रसाद खनाल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी, सुनसरी उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सामान्य प्रशासन महाशाखाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले सङ्क्रमित बढिरहेको र अधिकाङ्शले निषेधाज्ञामा कडाइ गरौं भन्ने सुझाव आएको बताए । ‘शुरुमा प्रचारप्रसार लगायतका कार्य गरिने र एकैपटक निषेधाज्ञामै नजाने निर्णय भएको छ’, उनले भने ।
अहिले धरानमा दिनहुँ ७० देखि ९० जनासम्म सङ्क्रमित हुने गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार हालसम्म दोस्रो लहरपछि ३९ सय ९४ जना (गत ३ गतेसम्मको रिपोर्ट) मा सङ्क्रमण पुष्टि भइसकेको छ ।
यसअघि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सार्वजनिक कार्यक्रममा धरानबासी सचेत हुनुपर्ने बताउँदै सचेत नबने निषेधाज्ञालाई थप कडाइ गर्ने बताउँदै आएका छन् ।
उता जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले निषेधाज्ञा अर्थात् लकडाउन नै गरिहाल्ने पक्षमा आफूहरु नरहेको बताए । ‘अहिले धरानमा संक्रमित बढेको गुनासो आइरहेको छ, जनता जोगाउनुपरयो भनेर कुरा आएकै हो तर देशभर नै संक्रमित बढेका छन्’, उनले भने, ‘अहिले नै निषेधाज्ञा अर्थात् लकडाउन गरिहाल्ने अवस्था भने छैन । हामीले धरानमा प्रचारप्रसार र अनुगमनलाई तीब्रता दिनुहोस् भनेर सुझाएका छौं ।’
उनले जनस्वास्थ्यविज्ञले नै पनि निषेधाज्ञालाई थप कडाइ गर्ने भन्नेबारेमा केही नभनेको बताए । ‘धरानको मामिलामा पुरै निषेधाज्ञा गर्ने भन्नेबारेमा कुरा आएकै हो तर पनि जनश्वास्थ्य विज्ञले निषेधाज्ञा नै गर्नु भनेको अवस्था छैन ।






