धरानः सधैं व्यस्त, मस्त रहने भेडेटार कोरोना कहरले ठप्पै सुक्यो । भेडेटार तङ्ग्रीएला कि नतङग्रीएला सहज भन्न सक्ने अवस्था थिएन । पूर्वको पर्यटकीयस्थलको रुपमा चर्चित भेडेटार होटल र पर्यटन व्यवसाय चौपट बनेको व्यवसायी निराश थिए । निषेधाज्ञा अवधिभर त भेडेटार सुनसान बन्यो र व्यवसाय चौपट पनि ।
तर अहिले प्रदेश नम्बर १ को पर्यटकीयस्थल भेडेटार पुग्ने बढेका छन् । गर्मी छल्न आन्तरिक पर्यटक ह्वात्तै बढेको व्यवसायीले बताएका छन् । ‘यस्तो हिसाबले पर्यटक आउलान् भन्ने सोंचेकै थिएनौं, अहिले भेडेटारमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ’, संस्थापक अध्यक्ष विष्णुराज श्रेष्ठले भने, ‘निषेधाज्ञा केही खुकुलो भएसँगै भेडेटारमा पर्यटकको चहपहल शुरु भएको हो, सातदेखि पर्यटक खचाखच हुन थालेका छन्, प्रायः सबै होटलहरु ‘प्याक’ हुन थालेका छन् ।’
गर्मी छल्नका लागि एकरात यहीँ बसेर फर्किने पर्यटक बढेपछि होटल प्याक हुन थालेको उनको भनाइ छ ।
अहिले भेडेटार पुरानो लयमा फर्किन थालेको र व्यवसायीले राहत महसुस गर्न थालेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउँछन् । ‘अब भने भेडेटार पुरानै लयमा फर्किने कोसिस गर्दैछ, भनौं, अब विस्तारै–विस्तारै भेडेटार तङ्ग्रीने कोसिस गरिरहेको छ,’ अध्यक्ष रुम्दाली राई भन्छन्, ‘यसले यहाँका व्यवसायीले केही राहत भने महसुस गरेका छन् ।’

‘अहिले भेडेटार पूर्णरुपमा खुलेको छ । यहाँबाट मकालु हिमाल, सप्तकोशी नदी आदिको दृश्यावलोकनका लागि पनि सहज भएको छ, चाडबाडले पनि होला पहिलाको जस्तैचाहिँ भइसकेको छैन, फाट्टफुट आन्तरिक पर्यटक आउन थालेका छन् ।’ अध्यक्ष राईले भने ।
पूर्वअध्यक्ष लीलाराज लावतीले केही राहत महसुस हुन थालेको बताएका छन् । ‘कोरोनाले थला नै परेको हो’, पूर्वअध्यक्ष लावतीले भने, ‘व्यवसायीले होटल खोल्न थालेपछि पर्यटक आउन पनि थालेका छन्, यतिका महिना घाटा भएको व्यवसाय अहिले नै उठाउँछौं भन्ने छैन, तर केही राहत भने मिल्दै गएको छ, सामाजिक दुरी कायम गर्दै होटल सञ्चालनमा ल्याइएको छ, आशा छ भेडेटार तङ्ग्रीन्छ ।’
भेडेटारनजिकै रहेको अग्र्यानिक गाउँ थुम्की र नाम्जे, नाम्जेको होमस्टे, नमस्ते झरनामा पनि पर्यटक फाट्टफुट्ट आउन थालेका छन् ।
भेडेटारमा अन्य गतिविधि पनि सञ्चालन हुन थालेका छन् । साहसिक खेल जीपलाइन पनि सञ्चालनमा आइसकेको छ ।
१ नं. प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको भेडेटारमा सबैभन्दा बढी भारतीय पर्यटक आउने गर्छन् । जहाँ नेपालका आन्तरिक पर्यटक मात्र होइन छिमेकी देश भारतका विहार, सिक्किम, दार्जिलिङ, उत्तर प्रदेशलगायत विभिन्न क्षेत्रबाट दैनिक हजारौं संख्यामा आउने गर्छन् ।
सधैंभरि चिसो मौसम भइरहने भेडेटारको विशेषता हो । गर्मी सिजन सुरु भएकाले गर्दा यतिबेला पर्यटकको घुइँचो लाग्ने सिजन हो । तराइको उखरमाउलो गर्मीका बेला बाह्रैमास चिसो हुने भेडेटारमा पर्यटक आउने गर्छन् । भेडेटारसहित नाम्जे, थुम्कीलगायत क्षेत्रमा साना–ठूला गरी डेढ सयभन्दा बढी होटल सञ्चालनमा छन् । ती होटलमा १ अर्बभन्दा बढी लगानी छ । अधिकांश होटलमा वित्तीय संस्थाको लगानी छ भने केहीले घर भाडामा लिएर होटल व्यवसाय सञ्चालन गरिरहेका छन् ।
पछिल्लो समय भेडेटारमा सेमिनार गोष्ठी समेत हुन थालेको जनाइएको छ । तस्वीरहरुः हाम्रो कोशी आवाज




















