Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘भेरोसेल भीड’

हाम्रो कोशी आवाज
साउन ११ २०७८, सोमबार
धरानमा ‘भेरोसेल भीड’

धरानः कोरोना भाइरसको दोस्रो लहरले सर्वसाधारणलाई त्रसित बनायो नै । खोप लगाउन खासै चासो नराख्ने सर्वसाधारणहरू अहिले खोजी खोजी खोप केन्द्र पुग्न थालेका छन् । खोप लगाउँदा पनि मरिन्छ कि भनेर त्रसित सर्वसाधारण अहिले खोजी खोजी केन्द्र पुग्ने गरेका हुन् ।
५५ वर्ष वा सो भन्दा माथिकाको लागि सोमबारदेखि ११, १२ र १३ गतेसम्म चाइनिज भेरोसेल खोप लगाइँदैछ ।
धरानमा तोकिएका जुनसुकै खोप केन्द्रमा खोप लगाउनेको भीड बढेको थियो । अधिकांशले खोप केन्द्रमै कोरोना सर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए तरपनि सर्वसाधारणको भीड थामिनसक्नु नै थियो । यसको लागि व्यवस्थापन पक्ष चुकेको देखियो । अधिकांश सर्वसाधारणले नै गुनासो गरे– टोकन प्रणाली अपनाएको भए हुन्थ्यो नि ।
धरान छाताचोकस्थित धरान स्वास्थ्यचौकी, पाँचकन्या स्वास्थ्यचौकी ठिङ्गाबारी, विष्णुपादुका स्वास्थ्यचौकी, धरान–८ स्थित सभागृह, आधारभूत स्वास्थ्य सेवा केन्द्र धरान–१३, पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरान–१५, कार्मेल हाइस्कुल धरान–१८ मा खोप केन्द्र तोकिएका थिए ।
खोपप्रतिको विश्वास बढ्यो
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले खोपप्रति जनताको विश्वास बढ्दै गएको बताए ।
धरानमा शुरुमा भारतीय खोप कोभिशिल्ड आएको थियो । शुरुमा भारतीय खोप कोभिशिल्ड आउँदा सर्वसाधारण खोपप्रति चासो र विश्वास नहुँदा नै खोप फिर्ता समेत हुने गरेको उनी बताउँछन् । पहिला कोभिशिल्ड आउँदा खोप लगाउन आउनुस् भनेर घरघरमा भन्न जाँदा पनि मानिसहरु नआएको उनी सम्झन्छन् । ‘विगतमा खोप लगाउन घरघरमा बोलाउन जाँदा गाली गरेर पठाउनेहरु पनि अहिले अत्तालिएर परिवारै खोप लगाउन लाइन बस्न आएका छन्,’ उनले भने ।
त्यतिबेला सर्वसाधारणले खोप लगाउन नमान्दा फिर्ता समेत भएको उनले जानकारी दिए । ‘खासमा त्यतिबेला खोप लगाएपछि मरिन्छ कि भनेर सर्वसाधारण डराउँथे र खोप समेत फिर्ता भएका थिए’, उनले थपे, ‘तर अहिले ठीक उल्टो भएको छ खोप नलगाउँदा मरिन्छ कि भन्ने भएको छ, खोप फिर्ता हुँदैन, खोप नै नपुग्ने अवस्था आउन थाल्यो ।’
यसअघि जतिपटक खोप आउँथ्यो त्यतिपटक नै फिर्ता गर्नुपरेको उनले जानकारी दिए । ‘जतिपटक खोप आउँथ्यो २५ प्रतिशत खोप फिर्ता हुने गरेको थियो, त्यतिबेला तीनपटकसम्म खोप फिर्ता भयो’, उनी भन्छन्, ‘तर अहिले ७५ प्रतिशतलाई पुग्दैन ।’ खोपले लगाउँदा ज्वरो आउने वा अन्य समस्या हुने भएको भन्दै सर्वसाधारण खोप लगाउन पन्छिने गरेको र अहिले त्यस्तो स्थिति नरहेको उनी बताउँछन् ।
उनले हप्तादिनपछि भारतीय खोप कोभिशिल्ड आउने जानकारी गराए । ‘कोभिशिल्डप्रति विश्वास नभएको होइन, सर्वसाधारणको चासो र विश्वास नभएको हो’, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता भन्छन्, ‘अब त्यो खोप हप्तादिनपछि आइपुग्छ ।’
खोप केन्द्रमा कतिपय सर्वसाधारण उमेर नै नपुगेका सर्वसाधारण पनि उपस्थित थिए । यसपटकदेखि आफूहरुले लक्षित समूहलाई नै खोप उपलब्ध गराएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दावी गरे । ‘यसपटकदेखि खासै घुसपैठ भएन भन्ने हाम्रो ठम्याइ हो, घुसपैठ नहुने किसिमले वैज्ञानिक तवरले खोप बाँडिएको हाम्रो दावी छ ।’ उनी भन्छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन ११ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend