धरानः कोरोनाको महामारीका कारण थलिएको भेडेटारमा अहिले चहलपहल बढेसँगै व्यवसायीले पनि लगानी बढाउन थालेका छन् ।
कोरोना महामारीले अबचाहिँ केही नहुने भो भन्दै व्यवसायी निराश बनिरहेको समयमा भेडेटारमा होटल भने थपिँदो छ । निषेधाज्ञाकै समयमा पनि होटल सञ्चालन गर्ने तयारीमा केही व्यवसायी जुटेका छन् ।
यसै क्रममा आइटी म्यानेजमेण्टमा डिग्री सकेकी धरानकी युवतीले झन्डै डेढ करोड लगानीमा होटल सञ्चालनमा ल्याउने तयारी गरेकी छिन् । धरान निवासी स्नेहा श्रेष्ठले यतिको लगानीमा होटल सञ्चालनमा ल्याउने तयारी थालेकी हुन् । उनी होटल एशोसिएसन अफ भेडेटारका संस्थापक अध्यक्ष तथा होटल अरुण भ्यालीका सञ्चालक विष्णुराज श्रेष्ठकी छोरी हुन् ।
बाबुको सहयोगमा उनले होटल सञ्चालनमा ल्याउन लागेकी हुन् । भेडेटारको शंकपार्कअगाडि सञ्चालनमा आउन लागेको होटलको सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ । एक महिनाभित्र खोल्ने तयारीमा रहेको उनले जानकारी दिए । ‘अहिले १५ प्रतिशत काम मात्रै बाँकी छ’, श्रेष्ठ भन्छन्, ‘महिना दिनभित्रमा खोल्छौं ।’
अरुभन्दा फरक शैलीको होटल सञ्चालनमा ल्याउन लागिएको सञ्चालिका श्रेष्ठ बताउँछिन् । ‘अरुभन्दा फरक हुन्छ’, श्रेष्ठ भन्छिन्, ‘सफाचट मात्रै होइन, खानेकुरा, स्वागत सत्कार अरुभन्दा अलग्गै हुन्छ ।’
काठमाडौंमा ५–७ वटा होटल बुटिक नाम गरेका होटल सञ्चालनमा रहेको र प्रदेश १ मा पहिलोपटक यहाँ यस्तो होटल सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिइन् । ‘टुरिजमको हब रहेको र आन्तरिक पर्यटकले नै धान्छन् भन्ने हाम्रो बुझाइ हो’, श्रेष्ठ भन्छिन्, ‘त्यही भएर फरक शैलीमा होटल सञ्चालनको तयारीमा जुटेका छौं ।’
पूर्वको पर्यटकीय गन्तव्यका रुपमा परिचय बनाएको भेडेटारमा होटलहरुमा लगानी गर्ने क्रम बढेको होटल एसोसियशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् ।
सुनसरी र धनकुटाको संगमस्थल भेडेटारमा पूर्वाञ्चलकै सबैभन्दा बढी होटल रहेका छन् । छिनछिनमा मौसम परिवर्तन हुने विषेशता रहेको भेडेटारमा पाँचवटा ठूला सेमिनर हलसहितका ३५ वटा सुविधा सम्पन्न होटल खुलेका छन् । त्यसैगरी १० वटा तारे होटल निर्माणधीन अवस्थामा छन् ।
रुम्दालीका अनुसार पूर्वाअञ्चलमै सबैभन्दा वढी पर्यटक आउने भेडेटार क्षेत्रमा होटल थपिँदै जानु पर्यटकका लागि नै फाइदाको विषय भएको बताउँछन् । भेडेटारमा लकडाउनअघि दैनिक दुई हजारदेखि २५ सयको संख्यामा पर्यटन घुम्न आउने गरेका छन् ।




















