Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

होटलमा खोप लुकाएपछि झापामा हंगामा

हाम्रो कोशी आवाज
साउन १६ २०७८, शनिबार
होटलमा खोप लुकाएपछि झापामा हंगामा

बिर्तामोडः जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा रासससँग कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए ।
“विर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालयका खोप प्राविधिक बालकृष्ण भण्डारी र कर्मचारी विशाल घिमिरेलाई १०३ भाइल खोप पठाएका थियौँ”, कार्यालय प्रमुख घिमिरेले भने, “इएलएमआइएस प्रणालीमा दर्ता गरेर इमेलसमेत गरेर हामीले वैधानिकरुपमा खोप पठाएका हौँ, तर खोप होटलमा लुकाइयो भनेर अफवाह फैलाइयो ।”
उनले खोप अभियानमा संलग्न स्वास्थ्यकर्मी खाजा खान होटलमा रहेका बेला खोप पुगेको हुँदा स्वास्थ्य कार्यालयका कर्मचारीले विर्तामोडको टाइमलेस होटलमै नगरका फोकलपर्सन खड्कालाई खोप बुझाएको जानकारी दिए । नगरपालिका कार्यालयको साटो होटलमा खोप बुझाउनु र बुझ्नु कमजोरी भएको स्वीकार गर्दै उनले अबदेखि यस्तो गल्ती दोहोरिन नदिइने प्रतिबद्धता व्यक्त गरे ।
शुुक्रबार अपराह्न ४ः०० बजेतिर स्थानीय युवाले होटलमा खोप राखिएको विषयमा विवाद गरेपछि इलाका प्रहरी कार्यालय विर्तामोडले सो खोप र नगरका स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर जिल्ला स्वास्थ्य कार्यालयमा बुझाएको थियो ।
फोकलपर्सन खड्कालाई आज जिल्ला प्रशासन कार्यालयमा छलफलमा उपस्थित हुने शर्तमा घर पठाइएको र प्रहरी नियन्त्रणमा रहेको सो खोपलाई स्वास्थ्य कार्यालयको स्टोरमा राखिएको कार्यालय प्रमुख घिमिरेले बताए । उनका अनुसार जिल्लामा ६३ हजार ५०० भेरोसिल खोप आएको र सबै खोप स्थानीय तहमा पु¥याइएको छ । उता होटेलमा खोप फेला परेको विरोधमा विद्यार्थी संगठनले शनिबार झापाको बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेका छन् ।
बिर्तामोड नगरपालिकाले खोपमा अनियमितता गरेको आरोप लगाउँदै विद्यार्थीहरुले शनिबार बिहान ११ बजे नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरुले दिनभर लाइनमा बसेका व्यक्तिलाई ‘खोप छैन’ भनेर फर्काइएको तर, २ सय डोज खोप होटलमा लुकाएर राखेको घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेका छन् ।
शुक्रबार जिल्ला स्वास्थ्य कार्यालयले बिर्तामोड नगरपालिकालाई पठाएको २ सय डोज खोप बिर्तामोडस्थित होटल टाइमलेस मुमेन्टमा स्थानीयले फेला पारेका थिए ।
शुक्रबार खोप लगाउन बिर्तामोडको देवी मावि र महेन्द्ररत्न माविको खोप केन्द्रमा सयौं नगरबासी बिहान ७ बजेदेखि लाइनमा बसेका थिए । तर, खोप सकिएको भन्दै नगरपालिकाका स्वास्थ्यकर्मीले लाइनमा बसेकालाई दिउँसो २ बजेतिर खोप नलगाई फर्काएका थिए ।

प्रकाशित मिति: साउन १६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend