धरानः धरानमा तीनजना दाजुभाइ बङ्गुरपालनमा कस्सिएर लागेका छन् ।
नेत्रप्रसाद, महेश र नगेश मेन्याङ्बो लिम्बूले संयुक्तरुपमा बङ्गुरपालन व्यवसाय थालेका हुन् । यस्तै, उनीहरुकै साथी नरेन गुरुङले पनि व्यवसायमा साथ दिएका छन् । स्वदेशमै बसेर प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने ध्येयले बङ्गुरपालन व्यवसाय शुरु गरेको बताएका छन् ।
आरुबोटे कृषि फर्म नामक फर्ममा उनीहरुले एक करोड रुपैयाँ बढी लगानी गरिसकेका छन् । ‘हालसम्म १ करोड रुपैयाँ बढी लगानी गरिसकेका छौं’, सञ्चालकमध्येका महेश भन्छन्, ‘अझै लगानी थप्ने सुरमा छौं ।’
धरान–५ ठिङ्गाबारीमा उनीहरुले यस्तो व्यवसाय थालेका हुन् । विगत एक वर्षदेखि उनीहरुले बङ्गुरपालन व्यवसाय थालेका हुन् । १० वर्षका लागि लिजमा लिइएको डेढ बिगाहा क्षेत्रफलको जग्गामा व्यवसायिक बङ्गुरपालन थालिएको सञ्चालक महेश बताउँछन् ।
उनीहरुले बङ्गुर, लोकल कुखुरा, बोइलर जातका बाख्रा पाल्न थालेका छन् । बच्चा उत्पादनका लागि ५५ माउ र अन्य गरेर लगभग १०० वटा बङ्गुरपालन थालिएको उनले जानकारी दिए । यस्तै, उनले त्यहाँ एउटा बँदेल पनि पालेका छन् ।
यस्तै, ५०० लोकल कुखुरा र २०० वटा बाख्रापालन थालेको उनीहरु बताउँछन् । व्यावसायिक बङ्गुरपालनसम्बन्धी प्रेरणा पाएपछि आफूले सो व्यवसाय शुरु गरिएको उनी बताउँछन् । अहिले व्यावसायिकरुपमा पालेको बङ्गुरले उनलाई आर्थिक रुपमा केही उकास्दै गएको उनीहरु बताउँछन् ।
‘अहिलेसम्म बङ्गुरको पाठापाठीको माग पुरयाउन नसकेकाले आगामी दिनमा थप माउ पाल्ने लक्ष्य रहेको छ, त्यसको तयारीमा समेत जुटेको छौं’, महेश भन्छन् ।
कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले यस्तो व्यवसायतर्फ आफूहरु आकर्षित बनेको उनी बताउँछन् । पढेलेखेकाहरुको पैसा कमाउनकै लागि जागीर खानैपर्छ भन्ने मान्यता गलत हुने भनाइ राख्ने नेत्रप्रसादले साँच्चिकै पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने व्यवसाय र खेतीपातीमा लाग्नुपर्ने तर्क गर्छन् । ‘पढेलेखेकाले कृषि र व्यवसाय गर्नु हुँदैन भन्ने कन्सेप्टले जित्दै गएको छ’, उनी भन्छन्, ‘सकेसम्म सबैले कृषि र व्यवसायमा लागौं, हाम्रो उन्नति, प्रगति यसैमा छ ।’
शुरुका दिनमा महेशले जागिर छाडेर बङ्गुरपालनमा लाग्दा परिवार र साथीभाइबाट निकै आलोचना खेप्नुपरेको अनुभवसमेत सुनाए । ‘म शिक्षक पेशाबाट पेन्सन पकाइसकेको मान्छे हुँ तर साथीभाइले अब के यस्तो पेशा अङ्गाल्नुभएको भनेर खिसिटयुरी पनि गरे तर मलाई यसैमा आनन्द छ ।’ उनले भने ।
बङ्गुरलाई लुतो, खोरेत, स्वान, फिवर, जुका र भ्यागुते रोगबाट बचाउन सके फाइदा हुने उनले बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज













