धरानः धरानको खोप केन्द्रअन्तर्गत रहेका सबै वडामा आलोपालो गरेर कोरोनाविरुद्धको खोप लगाइने निर्णय भएको छ ।
आइतबार मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । धरानमा सात स्थानमा खोप केन्द्र तोकिएको छ । सातवटा खोप केन्द्रलाई नै लक्षित गरेर त्यहाँ परिचालन गरिएका स्वास्थ्यकर्मीबाट दिन बिराएर वडागतरुपमा खोप लगाउन व्यवस्था गरिने निर्णय भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।
‘खोपकेन्द्र चाहिँ वडा वडामा हुँदैन, विगतमा सञ्चालन गरिएकै सात स्थानमा खोपकेन्द्र हुन्छ, आगामी दिनमा खोप केन्द्रअन्तर्गत रहेका वडा वडामा आलोपालो गरेर खोप लगाइन्छ,’ उनले भने ।
यस्तै, कार्यपालिका बैठकमा विद्यालय सञ्चालन तथा शुल्क निर्धारण सम्बन्धमा पनि छलफल भएको थियो ।
बैठकले गतवर्ष भएकै निर्णयलाई पारित गरेको छ । शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कटुवालका अनुसार विद्यालयहरुले वार्षिक शुल्कको हकमा ५० प्रतिशत मात्र शुल्क लिन पाउनेछन् भने अनलाइन कक्षाको हकमा मासिक शुल्क ५० प्रतिशत मात्र लिन पाउनेछन् ।